बुधबार, माघ २, २०८१
00:14 | ०५:५९

बेलायतका पत्रकार उत्रिए चुनावी मैदानमा  

४३ सदस्यमध्ये ३८ जनाले मगाए पोस्टल भोट

नेपाली लिङ्क जुन ४, २०२१

लन्डन । नेपाल पत्रकार महासंघ यूकेको पाँचौँ कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनमा पत्रकारहरु निकै उत्साहकासाथ अघि बढेका छन् ।

कोरोना महामारीका कारण वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पोस्टल भोटलाई प्राथमिकता दिने निर्वाचन समितिको निर्णय अनुसार छिटपुटबाहेक सबैले पोस्टल भोटमार्फत मतदान शुरु गरिसकेका छन् ।

प्राय सबै पदहरुमा निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा भने निर्वाचन हुने भएको छ । अध्यक्ष पदमा चारजनाले उम्मेद्वारी दिएपनि अन्तिम नामावलीमा भने वरिष्ठ उपाध्यक्षद्वय ध्रुवराज अर्याल र श्याम लुइंटेलबीच प्रतिस्पर्धा हुँदैछ ।

यसैगरी उपाध्यक्ष दिनेश कुमार परियार र  महासचिव संजयभक्त कंडेलबीच वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुँदैछ । उपमहासचिव नरेन्द्रकुमार बस्नेत (नरेन्द्र बस्नेत) र सचिव जगन्नाथ कार्की भने महासचिवका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा उम्मेद्ववारी दिएका कंडेलले शुक्रबार संयुक्त अपिल जारी गर्दै भनेका छन्- ‘नेपाल पत्रकार महासंघ यूकेको जुन १३ आइतबार हुन गइरहेको निर्वाचनमा अध्यक्षका प्रत्यासी श्यामकुमार लुईटेल, वरिष्ठ उपाध्यक्षका प्रत्यासी सञ्जयभक्त कँडेल र महासचिवका उमेद्वार जगनाथ (जगन) कार्कीलाई आफ्नो अमुल्य मत दिई सहयोग गर्न हुन हामी विनम्र अनुरोध गर्दछौं ।’ 

शाखालाई व्यवसायीकरण गर्दै डायस्पोरामा कार्यरत् पत्रकारहरुको हक अधिकार रक्षा गर्ने प्रतिवद्धता पनि उम्मेदवारत्रयको छ । 

आधुनिक प्रविधि, कोरोना महामारीबाट सुरक्षा, डेटा सुरक्षा र खोज मुलक पत्रकारिता, वृत्ति विकास लगायत विषयमा तालिम र कार्यशाला गोष्ठी, सबैको विचार र भूमिका स्थापित गर्न विभिन्न विभाग गठन गरी सामूहिक काम गर्ने प्रतिवद्धता पनि उक्त प्यानलको छ ।  

उता, अध्यक्षका अर्का प्रत्यासी ध्रुवराज अर्यालले ९ बुंदे प्राथमिकता निर्धारण गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

नेपाली पत्रकारहरुको स्तर उन्नति र वृत्ति विकासका लागि एक संयन्त्र नै निर्माण गरी तालिम, प्रशिक्षण, कार्यशाला, अनुभव आदान–प्रदान, अवलोकन भ्रमण लगायतका क्षमता तथा सीप अभिवृद्धिमुलक कार्यक्रम नियमित रुपमा संचालन गर्ने, अन्तर्राष्ट्रिय मिडिया हाउस र सञ्चारकर्मीसंग सम्बन्ध विस्तार गर्न विशेष पहल गर्ने, पत्रकारहरुको अन्तरराष्ट्रिय संगठन आइएफजेसंग शुरु भएको सम्बन्ध र सहकार्यलाई बिस्तार गर्ने र बेलायती पत्रकारहरुको संगठन एनयूजे लगायतसँग सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने, बेलायत तथा नेपालमा समस्यामा परेका नेपाली पत्रकारहरुको सहयोग तथा क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गर्ने, शाखाले विगतमा शुरु गरेको आपतकालीन राहत कोषको अवधारणालाई थप अगाडि बढाउने लगायत उनका एजेन्डा छन् ।

निर्वाचन समितिले बिहीबार नै पोस्टल भोटका लागि ‘ब्यालेट पेपर’ घर-घर पठाइसकेको छ । शाखाका ४३ सदस्यमध्ये ३८ जनाले पोस्टल भोट मगाएका छन् ।

आउँदो जुन १३ मा हुने शाखाको अधिवेशनले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष (१ महिला), १ महासचिव, २ सचिव, १ कोषाध्यक्ष, १ सह-कोषाध्यक्ष र ६ सदस्य गरी १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू