बुधबार, माघ २, २०८१
23:36 | ०५:२१

समाजसेवी रबिन्द्रजंग लामिछानेसंग त्यो लण्डन भेट

नेपाली लिङ्क जुन २, २०२१

जानिफकारहरु भन्छन्- ‘अवसर पर्खेर आउँदैन, आफैं बनाउनु पर्छ।’

अन्तत: त्यो अवसरको सुरुवात, मैले नवीन पोखरेल भाइलाई रबिन्द्रजंग लामिछाने अर्थात ‘रबि’ को फोन नम्बर मागेर सुरु गरेँ। नवीन भाइको बिश्वास मप्रति, कुनै आनाकानी बेगर फोन नम्बर दिंदै सुझाउनु भयो, ‘वाट्सअपमा म्यासेज गर्नुहोस्, फूर्सदमा जवाफ अवश्य दिनुहुन्छ दाईले।’

शुक्रबार, १६ अप्रिल २०२१- जुन व्यक्तिको सम्पर्कको माध्यम दुइबर्ष अघिदेखि खोज्दै थिएँ, उनको सम्पर्कको माध्यम पाउँदा आफ्नो छोटो परिचय दिंदै बिलम्ब नगरि नि:संकोच म्यासेज गरेँ, ‘नमस्ते रबिजी, तपाईंसंग भेट्ने मेरो हार्दिक ईच्छा तपाईंको प्रतिउत्तर पाए आभारी रहने छु।’

वाट्सअपमा मैले पठाएको म्यासेज हेरिएको /पढिएको कुनै संकेत, आकासे धर्साहरु म्यासेज बक्समा देखिएनन्। तर मनमा बिश्वाश थियो, जरुर मेरो म्यासेजको जवाफ दिनुहुन्छ। यसकारणले पनि बिश्वस्त थिएँ, वहाँको बारेमा थोर बहुत अध्ययन-खोज गरेकी थिएँ। केहि चिन्नेहरुसंग बुझ्ने कोशिश गरेकी थिएँ, त्यहि कारणले पनि म जवाफको प्रतिक्षामा थिएँ।

दिनहरु बिते अनि हप्ता तर जवाफ आएन। संयोगले शुक्रबार, ७ मे २०२१ – वाट्स अप म्यासेजमा संक्षिप्त जवाफ आएछ, ‘जवाफ ढिलाइका लागि क्षमा चाहन्छु, केहि कारण थियो कि यहाँले मलाई सम्पर्क गर्नु खोज्नु भएको?’


दुई बर्षदेखि जुन व्यक्तिसंग भेट्ने मेरो धोको थियो, आज जवाफ आउँदा म दंग थिएँ। भेट्न चाहेको आसय खुलाएर जवाफ तत्कालै फर्काएँ । रबिजीले एकहप्तापछि पुन: सम्पर्क गर्ने सल्लाह दिनुभयो। केहि ढुक्क भएँ।

अर्को शुक्रबार, १४ मे, २०२१ – अन्तत: रविजीले वहाँको कार्यालयमा भेट्नलाई दिन तोकेर मलाई निम्तो दिनु भयो।  

सोहि मेसोमा आज, २६ मे २०२१, बुद्ध जयन्तीको दिन- व्यवसायी भन्दा पनि समाजसेवी रबिलाई भेट्न गएँ। रबिन्द्रजंग लामिछाने अर्थात् ‘रबि’ परिचितहरुको माझ लन्डनका सफल युवा नेपाली व्यवसायी भनेर चिनिँदा रहेछन्।

रबिन्द्रजंग गत अप्रिल महिना नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विभूषण सुशोभन समारोहमा प्रवल जनसेवाश्री (तृतीय) मानपदवीबाट विभूषित भएका थिए ।

पुर्खौली थांतथलो पर्वत तिलाहार गाविसका स्थायी बासिन्दा तन्नेरी रबिन्द्रजंग करिब २२ वर्षअघि बेलायत आउँदा सुरुमा उनीभित्र धेरै अन्यौलता थियो होला, नयाँ ठाउँ, नयाँ परिवेश। कुरा गर्दै जाँदा अनुमान गरेँ, यो मान्छेभित्र ‘आगो’ भने जरुर थियो। जीवनमा केहि गर्ने महत्वकांक्षाको आगो अहिले पनि हुर्हुरी बले झैं लाग्यो। केहि हतारो देख्दा-देख्दै पनि झन्डै दुई घण्टा रबिको संघर्ष र सफलता अनि समाजसेवासंगै मुलुकप्रतिको आसक्ति सुनिरहन अटेर कुरा गरि नै रहेँ।  

व्यवसायको सफलतासंगै रबिले गरेका सामाजिक कार्यहरुको फेहरिस्त निक्कै लामो रहेछ।  आफ्नो मातृभूमिका लागि उनले कति दिए र कहाँ दिए आर्थिक लेखा-जोखाप्रति मेरो लेख्नु केहि छैन। प्रवासमा रहेर आफ्नो मुलुक र देशवासीलाई सम्झेर कसैले आफ्नो हैसियतले भ्याए सम्मको गर्छ भने त्यो नै काफी लाग्छ मलाई।  

उनै रबिको यो ईर्ष्या लाग्दो बर्तमानसम्मको यात्राहरु तय गर्दाका भोगाईहरु उप्काउन मन लाग्यो। कुराकानीकै प्रसंगमा रबिले सुनाए, ‘कुनै दिन हामी जाडोमा उभिएर कपडा बेच्थौँ।’ आफ्नो विगत र संघर्षप्रति रविको ईमान्दारिताले मेरो मन छोयो।

जीवन बाँच्ने क्रममा, यो मध्य-उमेरसम्म आईपुग्दा धेरै व्यक्तिहरुसंग भेटेकी छु। नजिकदेखि चिन्ने मौका पाएकी छु। आफन्त नभएर पनि आत्मीयहरु भेटेकी छु। रगत र गाउँले साईनो नभएर पनि प्रियजनहरु भेटेकी छु। हालसालै, रबिन्द्रजंग लामिछाने अर्थात ‘रबि’ संग परिचित हुने अवसर जुराएँ। उनको संघर्षका कथाहरु त्यो भन्दा पर्तिर समाजसेवाप्रतिको अथक लगावले हो मलाई उनीसंग परिचित हुन मनमा हुटहुटी जागेको।

शालीन व्यक्तिवका धनि रबिसंगको त्यो पहिलो भेट न केवल यादगार अपितु सफल रह्यो।

लन्डन, क्याम्डेन टाउनदेखि शुरु भएको व्यवसाय यहाँ आइपुग्नुमा लामिछानेको आँट, इमान्दारी एबं लगावकै परिणाम नि:सन्देह हो । तर उनलाई आफ्ना माता-पिता बाहेक धेरैको आशिर्बाद पनि मिलेको हुनुपर्छ। 


उनको व्यवसायिक सफलताबारे पढेकी थिएँ- ‘उनी लेडिज फेसन सम्बन्धि कम्पनी रबि फेमस लिमिटेड, आर फेमर लिमिटेड र जिनी लन्डन लिमिडेटका निर्देशक हुन् । उनको आर फेमस लिमिटेडले महिलाहरुका लागि कपडा डिजाइन तथा उत्पादन गरेर होलसेल रुपमा बेलायत, युरोप र अमेरिकामा आपूर्ति गर्ने गर्छ । अरु बांकी लेडिज फेशनका रिटेल कम्पनी हुन् । उनको मुख्य कारखाना चीनमा छ । लामिछानेले चीन, नेपाल र यूकेमा झण्डै ६ सय कामदारलाई रोजगारी दिएको बताए । उनको अब पाकिस्तान र बंगलादेशमा पनि कारखाना शुरु भएको छ ।’ (श्रोत: नेपाली लिंक )

सफल व्यवसायका अलावा विभिन्न संघसंथामा आवद्ध रहेका अध्यात्मिक चिन्तनका रविसंग सिक्नुपर्ने पर्ने गुणहरु मध्ये, ‘आफ्नो पेशाप्रतिको लगाव र मेहनत अनि समयानुसार आफुलाई अपडेट गर्दै लैजाने।‘ सफलताले जति नै आकाश चुमेपनि धर्तीमा टेकेर उभिने रविको व्यक्तित्वले जो कोहिलाई प्रभावित बनाउने रहेछ।

यात्रामा भलै एक्लै हुँला तर हिंड्नु एक्लै छोडेकी छैन त्यसैले त होला समाजसेवाप्रतिको मेरो बर्षौंको यात्रामा चिन्नेहरु कति केहि कदम हिडे त /साथ छोडे, कति अझै यात्रामा नै छन् ।

आस्तिक हैन तर आफुलाई अध्यात्मिक हुँ भन्ने गर्छु म। ईश्वरमा विश्वास गर्नेहरु यसो पनि भन्छन्- ‘ईश्वरको योजना बेगर केहि हुँदैन।’ ईश्वरीय योजना नै होला, पहिलो पटक भेटेको व्यक्तिले-‘समाजसेवाप्रतिको तपाईको समर्पणभावलाई म साथ् दिन्छु, तपाई काम गर्दै जानुहोस्।’

भनेर हौसला दिंदा ईश्वर कहीं छ भने, यहि छ भन्ने सोच्न बाध्य बनाए।

न मेरा नातेदार हुन्, न गाउँले। न कहिले भेटेको। रबिजीको यतिबिघ्न बिश्वासले नतमस्तक छु। खुशीले फुरुंग हुनुभन्दा पनि जिम्मेवारी थपिएको छ।

प्रसंग जोडौं, अघिल्लो बर्ष लकडाउनमा नेपाल हुँदा ‘ओया ईनिसियटिभ्स’ नामक एकल महिला र शिक्षाको सहयोगका लागि परिना सुब्बा लिम्बूसंग मिलेर दर्ता गरेको मेरो सामाजिक व्यवसायबारे जब मैले र रबिजीलाई सुनाएँ, कुनै प्रश्न बेगर नि:संकोच हृदय खोलेर उनी सहयोगका लागि तयार भए। साथै, जूनकिरी ईनिसियटिभ्स अन्तर्गत ‘शिक्षाको लागि उज्यालो’ अभियानलाई ५ बिद्यार्थीको लागि ग्राजुएटसम्मको अभिभाराको जिम्मा लिए।

केहिदिनपछि रबिले अर्का सफल व्यवसायी सहृदयी श्रेद्धय महन्त श्रेष्ठ दाजुसँग कुरा गराउँदै अरु थप ५ बिद्यार्थीको सहयोग लागि पहल गरिदिए ।

स्टेरियोटाईप कुरा गर्ने हो भने, ‘जातले’ पाए पनि नशाको अनुभव छैन यो उमेरसम्म। सोच्दैछु, ‘के नशाको ह्याङ्गओवर भनेको यस्तै हुन्छ ?’ तर अहिले म ह्याङ्गओवरमा छु।

साँचो हृदयले सेवा गर्नेका लागि जाति र समुदाय अनि भूगोलको निश्चित परिधि हुँदैन।

नेपालस्थित अभियानका साथीहरु यो कुरा शेयर गर्दा उनीहरुसंगै सेवाग्राही ८ जना अभिभावकबिहिन बालिकाहरु जो धरानको सुकुम्बासी बस्तिस्थित ‘बालिकाहरुका लागि मात्रै’ बालश्रममा बस्छन्, उनीहरु सबैको मुहारमा मुस्कानसंगै जीवनप्रति उत्साह थपिएको छ। आश्रम संचालन गर्ने मुख्य व्यक्तिको मृत्युपछि झन्डै बिचल्ली अवस्थामा रहेका ती बालिकाहरुका लागि सोहि आश्रममा काम गर्ने दम्पतिले जसोतसो समालेको अवस्थामा रबिजीको सहयोगको आगमन  अबर्णीय छ।

हो रहेछ, ‘अवसर पर्खेर आउँदैन, आफैं बनाउनु पर्दोरहेछ।’

प्रिय रविजी,

जीवन एउटा यात्रा हो। यात्रामा धेरै व्यक्तिहरु भेटिन्छन्। यात्रामा जुनसुकै अप्ठ्यारोमा पनि साथ् दिंदै अन्तिम गन्तब्यसम्म पुर्याउने साँचो मित्र बिरलै भेटिन्छ। तपाईलाई न केवल दाता अपितु असल शुभेच्छुक एबं प्रेरणादायी मित्रको रुपमा भेटेकी छु, शिष्ट मात्रै हैन विशिष्ट व्यक्तित्वको तपाई जस्तो सहृदयी मित्रको खुलेर नै प्रसंसा म किन नगरुँ?

नाम ‘रबि’ जस्तै उज्यालो तपाईको सत्कर्मलाई सलाम !

 लारा, लन्डन

१ जुन २०२१

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू