बुधबार, माघ २, २०८१
00:33 | ०६:१८

एनआरएनए यूके महिला उपाध्यक्षमा उम्मेदवारी दिने सरस्वती केसीको घोषणा

नेपाली लिङ्क जुन २, २०२१

लन्डन । लन्डनस्थित एकजना क्रियाशील महिला अभियन्ता सरस्वती केसीले एनआरएनए यूकेको आसन्न निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सोमबार सांझ एक पत्रकार सम्मेलन गरि केसीले आफू चुनावी मैदानमा उत्रने निष्कर्षमा पुगेको जनाइन् ।

ए्नआरएनए यूकेमा बढ्दै गएको बेथिती विसंगति, अराजकता नियन्त्रण एवं पारदर्शीतासहित संगठन सुदृढीकरणका लागि उम्मेदवारी दिने मनस्थिति बनाएको उनले बताइन् । ‘म बेलायतमा लामो समयदेखि समाज रुपान्तरणका लागि क्रियाशिल रहिरहें । आफ्नो सांगठनिक अनुभव अब एनआरएनए यूकेमा खर्चने मेरो योजना छ’, केसीले भनिन् ।

केसीले संस्थाको लक्ष्यप्राप्तिका लागि अग्रजहरुले अवलम्बन गरेको अधुरा योजना तथा नीति नियम कार्यान्वयन गर्ने, संस्थालाई सहभागितामुलक, समावेशी, युवा र महिलामैत्री बनाउंदै बेलायतका आमनेपालीसम्म विस्तार गर्ने, नेपालीले सन्चालन गरेका साना तथा मझौला उद्यमलाई थप सवलीकरण बनाउन आफ्नो अनुभव र ज्ञान आदानप्रदान गर्ने, महिला सशक्तिकरण जस्ता प्रमुख एजेण्डा अघि सारेकी छन् । ‘नयां निर्वाचित हुने अध्यक्षसहित समस्त कार्यसमितिलाई पूर्ण सहयोग गर्ने पनि मेरो उद्देश्य हुनेछ’, उनले भनिन् ।

वर्तमान कार्यसमितिमा सदस्य निर्वाचित हुंदा उनले सर्वाधिक मत ल्याएर विजयी भएकी थिइन् । आफ्नो कार्यसमितिका हरेक गतिविधिमा सहभागिता र साथ दिएका कारण पनि केसी आसन्न निर्वाचनमा सशक्त दावेदार मानिन्छन् ।

झण्डै दुई दशकअघि बेलायत आएर सामान्य संघर्षपूर्ण जागिरे जीवन हुंदै अहिले लन्डनमा रेष्टुरेन्ट व्यवसाय सन्चालन गरिरहेकी केसी च्यारिटी कर्ममा सधैं अग्रपंक्तिमा छिन् । सस्तो लोकप्रियताभन्दा व्यवहारमा काम देखाउने, स्पष्ट वक्ता, सहयोगी र मिजासिलो स्वभावका कारण उनी बेलायतमा सबैको ‘प्रिय’ छन् ।

नेपालमा अन्तरराष्ट्रिय डेनिस सहयोगी संस्थामा दशकबढी काम गरेकी सरस्वती महिला सशक्तिकरणकी प्रशिक्षिका र अधिकारकर्मी पनि हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू