शुक्रबार, मंसिर १४, २०८१
02:48 | ०८:३३

न्यूयोर्कमा मे २९ ‘नेपाली अमेरिकन हेरिटेज डे’ का रुपमा मनाइने

नेपाली लिङ्क मे २६, २०२१

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यभर मे २९ लाई अब ‘नेपाली अमेरिकन हेरिटेज डे’ का रुपमा मनाइने भएको छ राज्य संसदमा सांसद जेनिफर राजकुमारले स्पोन्सर गरेको रिज्योलुशन नम्बर ३३० न्यूयोर्कको राज्य संसदबाट मंगलबार स्वीकृत भएको हो । 

यो रिज्योलुशन सोमबार संसदको क्यालेण्डरमा चढाइएको थियो । उनले न्यूयोर्क राज्य संसदमा डिस्ट्रिक्ट ३८ बाट प्रतिनिधित्व गर्छिन् । जुन क्षेत्र क्वीन्सको ग्लेनडेल, ओजन पार्क, रिचमण्ड हिल, रिजउड, उडह्याभन लगायत पर्छन् ।

राज्य संसदमा यो प्रस्तावको को-स्पोन्सर राज्य सांसद जेफ्रियन ओब्रीले गरेका थिए । उनले न्यूयोर्क राज्य संसदमा नेपालीहरुको समेत बाक्लो बसोबास रहेको क्षेत्र डिस्ट्रिक्ट ३५ को एल्महर्स्ट, ज्याक्सनहाइट, कोरोना, लेफ्राकसिटी, उडसाइडको लगायत क्षेत्रको प्रतिनिधित्व गर्छन् ।

रिज्योलुशन स्पोन्सरकर्ता राज्य सांसद जेनिफर राजकुमार

गभर्नर एन्ड्रयु कुमोबाट मे २९ लाई न्यूयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज दिवसका रुपमा घोषणा नामको उक्त रिज्योलुशनमा नेपाल डेको उपलक्ष्यमा न्यूयोर्क राज्यको नेपाली अमेरिकन समुदायलाई खुशी र गर्वका साथ सम्मान गर्नु संसदीय निकायको प्रचलन रहेको उल्लेख गरिएको छ । त्यसैले मे २९ लाई न्यूयोर्क राज्यमा नेपाली अमेरिकन हेरिटेज डेका रुपमा घोषणा गर्नु न्यूयोर्क राज्यको संसदीय निकायका लागि पनि गर्वको कुरा भएको उल्लेख छ ।

मे २९ मा नेपालमा २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएको दिन भएको र नेपाली पात्रोअनुसार यो दिन जेष्ठ १५ मा पर्ने समेत रिज्योलुशनमा उल्लेख छ । सन् २००६ मा १० वर्षलामो गृहयुद्धको समाप्ती र सन् २०१५ मा विनाशकारी महाभूकम्प हुँदै नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेको विषयलाई पनि रिज्योलुशनमा समेटिएको छ ।

न्युयोर्क सिटी न्यूयोर्क राज्यमा रहेका ६७ प्रतिशत नेपालीहरुको घर रहेको र त्यसमा पनि ८७ प्रतिशत न्यूयोर्कबासी नेपालीहरु क्वीन्समा बस्ने रिज्योलुशनमा उल्लेख छ । मे २९ सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा सगरमाथा आरोहण गरेको वार्षिकी  समेत रहेको उल्लेख गर्दै रिज्योलुशनमा भनिएको छ – ‘नेपाल सुन्दर हिमालका लागि परिचित रहेको छ भने सगरमाथाको महान विश्वब्यापी महत्व छ ।’

रिज्योलुशन पारित भएपछि यसको प्रति गभर्नर एन्ड्रयु कुमो, न्यूयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावास र न्यूयोर्कमा रहेका नेपाली आधारित परोपकारी र विभिन्न संघसंस्थाहरुलाई प्रदान गर्ने रिज्योलुशनमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू