कोरोनाका कारण विदेशमा थप ४१ नेपालीको निधन
लण्डन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण गत दुई सातामा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।
समितिका संयोजक डा संजिव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखी विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।
संघले डा संजिव सापकोटाको संयोजकत्वमा डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरु परिचालन गरेको छ ।