कोरोनाबाट बच्न विशेष अनुष्ठान गरिंदै
काठमाडौं–कोरोना महामारीले यतिखेर नेपालसहित सम्पूर्ण विश्व नै आक्रान्त छ । यसको नियन्त्रण गर्न सबैभन्दा पहिला आफैं होसियार रहन जरुरी छ । तर, के कस्ता उपाय अबलम्बन गर्ने भन्ने बारेमा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर र जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामले विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् ।
कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि हिमालयन सिद्धमहायोगको माध्यमबाट सुनसरीस्थित चतरामा आगामी जेठ १२ देखि १५ दिने विशेष अनुष्ठान हुन लागेको हो ।
विभिन्न भर्चुअल माध्यमबाट गरिने सो अनुष्ठानमा सात्विक दिनचर्या र भोजन, योग चर्य, आयुर्वेदिक उपचार पद्धति लगायत विषयमा प्रशिक्षण दिने बताइएको छ ।
स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने, रोगी व्यक्तिको रोग निर्मुल पार्ने तथा वर्तमान अवस्थामा कोरोना महामारीबाट आम सर्वसाधारणको जीवन रक्षा गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको जगतगुरु सिद्धबाबाले जनाएका छन् ।
स्वस्थ जीवनको लागि ऋतु अनुसार आवश्यक पर्ने दिनचर्या, भोजनचर्या, योगचर्या र संयमित तथा सदाचारयुक्त आचरण लगायतका विषयलाई वैज्ञानिक अवधारणाबाट दिइने सो प्रशिक्षण सबैका लागि लाभदायक हुने आयोजकको दावी छ ।
पारस्परिक वैदिक आयुर्वेदिक पद्धिति समेत अनुशरण गरी सञ्चालन हुने १५ दिने अनुष्ठानमा सबै नेपालीहरु सहभागी हुन सके कोरोनालाई परास्त गर्न सकिने जगतगुरु महायोगी सिद्धबाबाको धारणा छ ।
नेपालमा कोरोना सम्बन्धि आवश्यक औषधि, खोप, अक्सिजन लगायत स्वास्थ्य उपकरणको अभाव भइरहेको अबस्थामा आवश्यक सहयोग गर्न स्वास्थ्य मन्त्रलायले समेत गरेको आह्वानलाई दृष्टिगत गर्दै यो विपत्तिको समयलाई आवश्यक कर्तव्य निर्वाह गर्ने गरी विशेष अनुष्ठानको नाममा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको पीठका अध्यक्ष गणेश सुब्बा विरहीले जानकारी दिए ।
कार्यक्रम सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पिठका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारी, उपाध्यक्ष विश्वप्रकास पण्डित, शिवराज पौडेल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
जगतगुरु रामानान्दचार्य सेवा पीठले दश महिनाअघि चतरास्थित पीठको भवनलाई १ नम्बर प्रदेश सरकारसंगको समन्वयमा होल्डिगं एरिया, आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गरेर करिब २० हजार सर्वसाधारणलाई सेवा प्रदान गरेको थियो ।