मंगलबार, माघ १, २०८१
20:08 | ०१:५३

बेलायतबाट बेग्लाबेग्लै भन्दा सामूहिक पहलमा सहयोग जुटाउन विज्ञहरुको जोड

नेपाली लिङ्क मे २३, २०२१

काठमाडौँको पशुपति क्षेत्रस्थित शवदाह गृहअगाडि कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने क्रममा नेपाली सेना । तस्वीर-प्रदीपराज वन्त, रासस

लन्डन । नेपालमा दैनिक सयौं मृत्यु र हजारौं संक्रमित हुने गरि फैलिरहेको कोभिड १९ को दोश्रो लहरविरुद्ध लड्न यूके नेपाल कोभिड १९ सपोर्टबारे एक वेबीनार भएको छ । लन्डनस्थित नेपाली दूतावास, सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूके, पासा पुच गुठी यूके लन्डन, नेपलिज डक्टर्स एसोसिएसन यूके, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स र एनआरएनए यूकेको संयुक्त प्रयासमा कार्यक्रम भएको हो ।

सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूके महासचिव डा. बिदुर घिमिरेले शुभारम्भ गरेको पहिलो सत्रमा अध्यक्ष संयुक्त श्रेष्ठले लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपालमा फैलिरहेको संक्रमण र यसको रोकथामका लागि सरकारले चालेका कदमबारे अवगत गराउंदै बेलायतमा सहयोग नेपाल पठाउने सम्बन्धमा दूतावासले समन्वय गर्ने बताए ।

सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूके अध्यक्ष संयुक्त श्रेष्ठले बेलायतबाट गर्न सकिने प्राविधिक सहयोगबारे उल्लेख गर्दै नेपालमा पहिलो लहरका बेला आफ्नो संस्थाले पीपीइ उत्पादन तथा वितरणमा १० हजार पाउण्ड सहयोग गरेको जानकारी दिए । उनले बेलायतस्थित संघस्थालाई एकजुट हुन अपिल गर्दै बेग्लाबेग्लै भन्दा सामूहिक प्रयासमा धेरै देशले महामारी नियन्त्रण गरेको स्मरण गरे ।

पासा पुच गुठी यूके लन्डनकी अध्यक्ष रुक्मिणी मानन्धरले २१ वर्ष पुरानो आफ्नो सांस्कृतिक संगठनले नेपालमा हरेक संकटका बेला सहयोग गरेको उल्लेख गर्दै उनले अहिले विशेष गरि सिमान्तकृत र पिछडिएको समुदायलाई सहयोग बढी जरुरी रहेको बताइन् ।

नेपलिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. रमेश खोजुले सीसीएमसीले काठमाडौं सामाखुशीमा बनाएको आइसोलेसन सेन्टरमा अक्सिजन पाइपलाइन राख्न हेल्थ एक्सचेन्ज नेपाल यूकेको सहकार्यमा २० हजार पाउण्ड सहयोग पठाइएको बताए । डा. खोजुले अमेरिका नेपाल मेडिकल फाउनडेशनले अक्सिजन प्लान्ट बनाउने तयारी गरिरहेको पनि सुनाए ।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजालले सानो कोष संकलन भन्दा वृहत तरिकाले चन्दा संकलन गरि एकै च्यानल दूतावासमार्फत नेपालमा अक्सिजन प्लान्ट र सिलिण्डर पठाउने व्यवस्था गर्न सबैलाई सुझाए । एनआरएनए यूके अध्यक्ष पुनम गुरुंग र उपाध्यक्ष रोजिना प्रधान राईले पहिलो लहरका बेला संघले नेपाली दूतावासमार्फत २२९ जना नेपालीलाई यूकेबाट नेपाल जान उद्दार गरिएको स्मरण गर्दै अहिले बेलायतबाट खोप र अन्य स्वास्थ्य उपकरण सहयोगका लागि पहल गरिरहेको बताए ।

पासा पुच गुठी यूके बोर्ड अफ ट्रष्टीज अध्यक्ष ओजेश सिंहले संयोजन गरेको कार्यक्रमको दोश्रो सत्रमा बेलायत र नेपालका कूटनीतिज्ञ, विज्ञहरु र पेशवर व्यक्तित्वहरुले अन्तरक्रिया गरेका थिए ।

सो सत्रमा कोभिड एलायन्स फर नेपालकी सुमना श्रेष्ठ, आनन्द मिश्र, युनिभर्सिटी अफ हडर्सफिल्डमा प्राध्यापक पदम सिंखडा, नेपालका लागि पूर्व बेलायती राजदूत एन्ड्रियू स्पार्कस, विश्व स्वास्थ्य संगठनका नेपाल राष्ट्रिय निर्देशक डा. सुदनराज पन्थी, आपतकालिन मेडिकल विज्ञ डा. रामु खरेल, ब्रिटेन नेपाल एनजिओ नेटवर्कका अध्यक्ष निक हिन्टन लगायतले नेपालमा कोभिड १९ को वर्तमान अवस्था, गरिब मुलुक नेपालले यसलाई कसरी नियन्त्रण गर्न सक्छ र बेलायतबाट के कस्ता सहयोग पठाउन सकिन्छ भन्नेबारे आ-आफ्नो धारणा र सुझाव राखेका थिए ।

विश्व स्वास्थ्य संगठनका नेपाल राष्ट्रिय निर्देशक डा. सुदनराज पन्थीले नेपालका ९८ प्रतिशत जनतालाई खोप पहुंच नभएको र पहिलो डोज लगाएका करिब १३ लाख जनताले दोश्रो डोज कहिले पाउने हुन् यकिन नभएको तथ्यांक प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू