मंगलबार, माघ १, २०८१
20:15 | ०२:००

बेलायतका दिदीबहिनीले अक्सिजन कन्सन्ट्रेटर किन्न दिए लाख रुपैयां

नेपाली लिङ्क मे २२, २०२१

लन्डन । नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड–१९ संकटमा आपतकालीन सहयोग स्वरूप बेलायतस्थित दिदीबहिनी समुहले पनि सहयोग गरेका छन् । समूहको तर्फबाट करिब एक लाख १५ हजार रुपैयाँ अर्थात सात सय पाउण्ड बराबरको रकम सहयोग गरिएको हो ।

उक्त रकम एनआरएन यूकेको संयोजनमा ‘अक्सिजन पठाऔं – नेपालीको ज्यान बचाऔं’ भन्ने अभियान अन्तर्गत एक थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन सहयोग गरिएको दिदीबहिनी समूहले जानकारी दियो ।

गत मे १५ मा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उपनियोग प्रमुख श्रीमति रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरुको बृहत बैठक सम्पन्न भएको थियो ।

सो बैठकले ‘अक्सिजन पठाऔं- नेपालीको ज्यान बचाऔं’ अभियान अन्तर्गत प्रति अक्सिजन कन्सन्ट्रेटरका लागि करिब ७०० पाउण्डका दरले एक संस्था न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो ।

एनआरएनएको सो अभियान अन्तर्गत छैटौं दिनसम्ममा १९१ थान अक्सिजन कन्सन्ट्रेटरका लागि एक लाख ३३ हजार ७०० पाउण्ड अर्थात करिब दुई करोड बीस लाख रुपैयाँ बराबरको प्रतिवद्धता आइसकेको छ ।

दिदीबहिनी समूहले मातृभूमिमा आइपरेका विभिन्न आपतमा सक्दो सहयोग गर्दै आएको छ । यसका साथै बेलायतमा नेपाली कला संस्कृति र परम्पारालाई निरन्तरता दिन विभिन्न खालका सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू