पत्रकार महासंघ यूके पाँचौं अधिवेशन जुन १३ मा
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको पाँचौं अधिवेशन आउंदो महिना हुने भएको छ ।
आइतबार सम्पन्न शाखाको कार्यसमिति बैठकले जुन १३ तारिख आइतबारका दिन भर्चुअल माध्यमबाटै अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनले शाखाको नयाँ नेतृत्व चयन गर्नेछ ।
बैठकले पाँचौं कार्यसमितिको निर्वाचनको लागि रमेश सराङकोटीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिमा संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा एवम् सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य छन् भने कानूनी सल्लाहकारमा सोलिसिटर दीपक भट्टराईलाई राखिएको छ ।
अधिवेशन संयोजनको जिम्मा उपाध्यक्ष विमला सेनेलाई दिइएको छ ।
बैठकले शाखाका ४३ सदस्य (एक स्थानान्तरण समेत) को सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । सदस्यता शुद्धिकरण समितिले पेश गरेको सिफारिशमाथि कार्यसमितिमा भएको छलफलपछि केही नामहरु थप गर्दै सदस्यको अन्तिम सूची तयार गरिएको थियो ।
बैठकमा शाखाले वर्षेनी प्रदान गर्ने भनिएको ५ सय पाउन्ड राशीको एफएनजे यूके पत्रकारिता पुरस्कार यही वर्षदेखि प्रदान गर्ने निर्णय भएको छ । अधिवेशनकै दिन वितरण गरिने पुरस्कार छनोटका लागि प्रा कृष्ण अधिकारीको संयोजकत्वमा अध्यक्ष नरेश खपांगी, प्रा प्रियाम्दवा पौडेल र पुरस्कार कार्यविधि संयोजक डा जगन कार्की सदस्य रहेको एक समिति गठन गरिएको छ ।
अधिवेशनका दिन बेलायतको नेपाली पत्रकारितामा योगदान पुर्याएका ५ जना अग्रज व्यक्तित्वलाई शाखाका तर्फबाट सम्मान गरिने भएको छ ।सुमन खरेल, चिरन्जिवी पौडेल, सुरेशजंग शाह, विजय थापा र भगिरथ योगीलाई अग्रज सम्मान दिने निर्णय गरिएको हो ।
शाखा अध्यक्ष नरेश खपांगीको अध्यक्षतामा सम्पन्न बैठकमा शुद्धिकरण समितिका संयोजक भगिरथ योगी, पूर्व अध्यक्ष चिरन शर्मासहित कार्यसमितिका अधिकांश पदाधिकारी एवम् सदस्यहरुको सहभागिता थियो ।