बेलायतमा घटे संक्रमित, दुईको मात्र मृत्यु
लन्डन– बेलायतमा लकडाउन थप खुकुलो हुन एकसाता बाँकी रहंदा कोरोना संक्रमण र मृत्यु दरमा निरन्तर कमी आएको छ ।
आइतबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा दुई कोरोना संक्रमितकोमात्र मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६०५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ७७० जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
नयाँसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ३४ हजार ८६० पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५९ हजार ४४ छ भने ४२ लाख ४८ हजार ११ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
५ करोड ३० लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ३० लाख ४१ हजार ४८ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ५३ लाख ७१ हजार ६६९ जनाले पहिलो र एक करोड ७६ लाख ६९ हजार ३७९ जनाले खोपको दोस्रो डोज लगाएका छन् ।
हालसम्म कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ । कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९५ हजार, ब्राजिलमा ४ लाख २१ हजार, भारतमा २ लाख ४५ हजार, मेक्सिकोमा २ लाख १८ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख १३ हजार, फ्रान्समा एक लाख ६ हजारको मृत्यु भएको छ ।
सरकारको पूर्व निर्धारित समय अनुसार नै आउँदो मे १७ बाट इंग्ल्याण्डमा लकडाउन थप खुकुलो बनाइने भएको छ । लकडाउन खोल्ने सम्बन्धमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार सांझ पत्रकार सम्मेलनमार्फत थप प्रष्टयाउने बताइएको छ ।