सोमबार, पुष २९, २०८१
14:35 | २०:२०

लन्डन मेयरमा पुन: निर्वाचित भए सादिक खान

नेपाली लिङ्क मे ८, २०२१

लन्डन– बेलायतको राजधानी लन्डन शहरको मेयरमा सादिक खान पुन: निर्वाचित भएका छन् ।  

बिहीबार सम्पन्न निर्वाचनको मतगणनापछि शनिबार राती घोषित नतिजाअनुसार लेबर पार्टीका उम्मेद्वार खान दोस्रो कार्यकालका लागि लन्डन मेयरमा निर्वाचित भएका हुन् ।  

पुन: निर्वाचित हुने क्रममा खानले दुई राउन्डमा गरी ५५ दशमलव २ प्रतिशत मत प्राप्त गरे । खानले जम्मा १२ लाख ६ हजार ३४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका उम्मेद्वार साउन बेलीले ९ लाख ७७ हजार ६ सय १ मत प्राप्त गरे । 

यसअघि सन् २०१६ मा पहिलोपटक लन्डन मेयरमा निर्वाचित हुँदा खानले ५७ प्रतिशत मत पाएका थिए ।  

पाकिस्तानबाट आएको आप्रवासी परिवारमा जन्मिएका खान मुस्लिम समुदायबाट लन्डनको मेयर निर्वाचित हुने पहिलो हुन् । 

पेशाले सोलिसिटर खान लेबर पार्टीको राजनीतिमा लागेपछि सन् १९९४ मा काउन्सिलर निर्वाचित भएका थिए । त्यसयता सन् २००६ सम्म उनी लन्डन वान्ड्सवर्थमा काउन्सिलर थिए । सन् २००५ मा टुटिङ क्षेत्रबाट पहिलोपटक सांसद निर्वाचित उनी २०१६ मा पहिलो कार्यकाल मेयर निर्वाचित भएका हुन्  

लन्डन मेयरको रुपमा खानको पहिलो कार्यकाललाई औसत रुपमा लिइन्छ । लन्डनमा कन्जेसन चार्ज बढाउने, यूलेज चार्ज शुरु गर्ने, साइकल लेन बिस्तार गर्ने जस्ता कार्य उनले गरेका थिए । समग्रमा लन्डनको यातायात र ट्राफिक व्यवस्थापनमा केही सुधार ल्याएपनि अपराध नियन्त्रणमा भने उनी असफल रहेको भन्दै आलोचना हुने गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू