एनआरएनएले बोलायो आकस्मिक बैठक
लण्डन–नेपालमा कोरोना महामारी तीव्र रुपमा बढ्न थाले पछि गैरआवासीय नेपाली संघले आकस्मिक बैठक बोलाएको छ । महामारीका बेला संघको तर्फबाट भइ आएका सहयोग र सहकार्य थप प्रभावकारी बनाउने उद्देश्यले बैठक बोलाइएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।
बैठकमा विश्वभर छरिएर रहेका मेडिकल डाक्टर, नर्स र नेपालको हेल्थ अथोरिटीसँग विभिन्न चरणमा छलफल गरी स्वास्थ्य समितिले वर्तमान अवस्थाको समिक्षा गर्दै कार्य योजना प्रस्ताव गर्ने तयारी गरिएको छ ।
हालसम्म एनआरएन जापानको तर्फबाट कोभिड पीडित राहत कोषमा ५ लाख रुपैयाँ प्रतिवद्धता आएको संघले जनाएको छ । एनसीसी बहराइनबाट ६ लाख संघको खातामा जम्मा भइसकेको छ ।
एनसीसी जर्मनीको तर्फबाट १ लाख रुपैयाँ सहयोग संघको खातामा जम्मा भएको छ । एनआरएनए अमेरिका र अष्ट्रेलियाले सहयोग जुटाउन छलफल शुरु गरेका छन् ।
शनिवार नेपाली समय अनुसार साँझ ६ बजे जुममार्फत हुने बैठकमा राष्ट्रिय समिति परिषद्का अध्यक्ष तथा महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, सदस्यहरु र मनार्थ परिषद सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।
नेपालमा कोरोना संक्रमण तीव्र भइरहंदा बेलायतले पनि शुक्रबारबाट नेपाललाई ‘रेड लिष्ट’ मा राखेको छ । रेड लिष्टमा परेका मुलुकबाट बेलायत आउन प्रतिवन्ध रहनेछ ।