सोमबार, पुष २९, २०८१
11:55 | १७:४०

अल्डरसटको काउन्सिलरमा विजयी भए बेल्वासे

नेपाली लिङ्क मे ७, २०२१

लन्डन । बेलायतको नेपाली राजाधानीका रुपमा चिनिने अल्डरसटमा स्थानीय सामाजिक अभियन्ता जीव बेल्वासे काउन्सिलर निर्वाचित भएका छन् ।    

रश्मोर बरोको वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी बने ।  उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले मात्र ४ सय २  मत प्राप्त गरे । लिबरल डेमोक्र्याट उम्मेदवार भने ८१ मतमै सिमित रहे ।

बिहीबार सम्पन्न निर्वाचनको नतिजा शुक्रबार साँझ घोषणा भएको हो ।

बेल्वासे उम्मेदवार रहेको वडामा पोस्टल र प्रत्यक्ष गरी जम्मा १ हजार ७९ मत खसेको थियो ।  

अल्डरसटको वेलिङटन वडामा यसअघि पनि कन्जरभेटिभ पार्टीका तर्फबाट नेपाली समुदायका प्रवेश केसी काउन्सिलर थिए ।

विगतमा लेबर पार्टीको पकड रहेको उक्त वडामा गत निर्वाचनमा भने कञ्जरभेटिभ पार्टीबाटै प्रवेश केसी विजयी भएका थिए ।

काउन्सिलर निर्वाचित बेल्वासेले लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएका छन् । ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष उनी एनआरएनए यूकेका पूर्व प्रवक्ता पनि हुन् ।

बेल्वासेले स्थानीय समुदायमा पुरयाएको योगदानको कदरस्वरुप उनले बीबीसी कम्युनिटी हिरो अवार्ड, ह्याम्पशायर हाई सेरिफ अवार्ड जस्ता प्रतिष्ठित सम्मान पनि प्राप्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू