इंग्ल्याण्डमा स्थानीय निर्वाचनको मतदान हुँदै, मैदानमा नेपाली मूलका उम्मेदवारहरु पनि
लन्डन । इंग्ल्याण्डका विभिन्न क्षेत्रमा आज स्थानीय निर्वाचनका लागि मतदान भइरहेको छ ।
इंग्ल्याण्डका विभिन्न १ सय ४३ काउन्सिलहरुको निर्वाचनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । मतदानस्थलहरु बेलुका १० बजेसम्म खुला रहनेछन् ।
इंग्ल्याण्डका स्थानीय काउन्सिलहरु साथै बिहीबार स्कटल्यान्ड र वेल्समा स्थानीय संसद सदस्यका लागि पनि मतदान भइरहेको छ । यही निर्वाचनबाट स्कटिस पार्लियामेन्टका १ सय २९ र वेल्स पार्लियामेन्टका ६० सदस्य चुनिनेछन् । इंग्ल्याण्डकै हार्टलपुल क्षेत्रबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने एक केन्द्रीय सांसदको निर्वाचन पनि आज हुँदैछ ।
त्यसबाहेक इंग्ल्याण्ड र वेल्समा ३९ पुलिस तथा क्राइम कमिश्नरको लागि पनि आज मतदान भइरहेको छ ।
बिहीबारको निर्वाचनमा मतदानका लागि ४ करोड ८० लाख मतदाता योग्य छन् । उनीहरुमध्ये लाखौंले पोस्टल भोटिङमार्फत् यसअघि नै आफ्नो मत जाहेर गरेका छन् ।
बेलायतमा सन् २०१९ मा सम्पन्न आम निर्वाचनयता यो नै सबैभन्दा ठूलो निर्वाचन हो । महामारीका कारण गत वर्ष स्थगित केही क्षेत्रको स्थानीय निर्वाचन पनि आज हुँदैछ ।
ब्रेक्जिट र महामारीपछि हुन लागेको यो निर्वाचनलाई बेलायतको केन्द्रीय राजनीतिमा पनि महत्वका साथ हेरिएको छ ।
नेपाली मूलका उम्मेद्वार पनि प्रतिस्पर्धामा
बिहीबारको निर्वाचनमा केही नेपाली मूलका उम्मेद्वार पनि प्रतिस्पर्धामा छन् ।
बेलायतमा सबैभन्दा धेरै नेपालीहरु बस्दै आएको अल्डरसटमा जीव बेल्वासे र नेम थापा मगर काउन्सिलर पदको उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । उनीहरु दुबै कन्जरभेटिभ पार्टीका उम्मेद्वार हुन् ।
बिहीबार राती सम्पन्न हुने निर्वाचनको नतिजा शुक्रबारसम्म प्राप्त भइसक्नेछ ।