शुक्रबार, मंसिर १४, २०८१
22:54 | ०४:३९

चीन-अष्ट्रेलिया आर्थिक संवाद स्थगित

रासस–एपी मे ६, २०२१

बेइजिङ । चीनले अष्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अष्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अष्ट्रेलियाविरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ । 

साथै केही वर्षदेखि अष्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा गरिरहेको छ । 

बिहीबारको नयाँ घोषणाले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने संकेत गरेको छ । सांकेतिक भए पनि संवाद स्थगनले विशेष अर्थ राख्ने एसिया–प्रशान्त क्षेत्र सम्बन्धी अष्ट्रेलियाली कूटनीतिक जानकार केटलिन बायर्नले बताइन् । उनका अनुसार दुबै मुलुकबीच सन् २०१७ यता कुनै छलफल नै भएको छैन । 

चीनले अष्ट्रेलियाली कोइला, गहुँ र अन्य सामाको आयात रोक्का गरेपछि दुबै देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको छ । चीनले एकपछि अर्को दबाब दिए पनि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको सरकार टसको मस भएको छैन । 

अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयकी निर्देशक बायर्नले भनिन्, ‘यो साँच्चिकै महत्वपूर्ण र साङ्केतिक कदम हो, तर सारभूत रुपमा हेर्दा यसको असर सीमित मात्र छ ।’

चीन सरकारले अष्ट्रेलियामाथि शीतयुद्धकालीन मानसिकता र वैचारिक विभेदका कारण सम्बन्ध सामान्यीकरणलाई बेवास्ता गरिरहेको आरोप लगाएको छ । 

चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अस्ट्रेलिया रणनीतिक आर्थिक संवाद अन्तर्गत सबै क्रियाकलापहरु अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ । 

चीनले यस्तै संवादहरु अष्ट्रेलिया, संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकसँग गर्दै आएको छ जसमा व्यापार विवाद र अन्य आर्थिक मुद्दाहरुमाथि छलफल हुने गरेको छ । 

‘यो दुर्भाग्यपूर्ण हो । हामीले चीनसँग संवाद गरेकै राम्रो हो’, अष्ट्रेलियाका विपक्षी नेता एन्थोनी अल्बानेसले सिड्नीमा बताए,’यो चीनको मामिला मात्र होइन, दुबै मुलुकसँग यो सम्बन्धित छ ।’

चीनको अष्ट्रेलिया, भारत र कतिपय अन्य छिमेकी मुलुकसँगको सम्बन्ध पछिल्ला केही वर्षदेखि समस्याग्रस्त बन्दै गएको छ । चीनले अस्ट्रेलिया र पश्चिमा प्रजातन्त्रवादी मुलुकहरुसँग पनि चीनले आफ्नो राजनीतिक प्रभाव देखाउन खोजेको छ । 

गत वर्ष चीनले अस्ट्रेलियाबाट हुने अधिकांश वस्तुको आयात रोक्ने घोषणा गरेको थियो । खासगरी कोरोनाभाइरसको उत्पत्तिलाई लिएर चीनमाथि छानबिन गर्नुपर्ने अष्ट्रेलियाले माग गरेपछि विवाद चर्किएको हो । 

चिनियाँ मन्त्रीहरुले अष्ट्रेलियाली समकक्षीले गरेका फोन समेत लिन अस्वीकार गरेका थिए । अष्ट्रेलियाली व्यापार मन्त्री डान टेहानले एक विज्ञप्ति नै प्रकाशन गरी चिनियाँ रबैयाप्रति निराशा गरेका छन्   

उनले भने, ‘हामी संवादका लागि खुला छौं र मन्त्री स्तरमा छलफल गर्न तयार छौं ।’

अष्ट्रेलियाली सामानको पहिलो बजार चीन हो, तर प्रतिबन्धहरुले खासै असर नपरेको दुबै देशको भनाइ छ । किनभने चीनका स्टिल मिलले अझै पनि अस्ट्रेलियाली फलाम आयात गरिरहेका छन् । अस्ट्रेलियाबाट निकासी हुने सबैभन्दा मूल्यवान धातु पनि फलाम नै हो । 

गत महिना अस्ट्रेलिया सरकारले भिक्टोरिया राज्यले चीनको ‘बेल्ट एन्ड रोड (बिआरआई)’ सँग गरेको दुईवटा सम्झौता रद्द गरिदिएको थियो । 

अष्ट्रेलियाली विदेश मन्त्रीले अस्ट्रेलियाको उक्त कदम कुनै एक राष्ट्रप्रति लक्षित नरहेको बताएका थिए । तर, चीनले अष्ट्रेलियाको उक्त निर्णयको प्रतिकार गर्ने चेतावनी दिइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू