भारतीय अस्पतालमा आगलागी हुँदा संक्रमित र नर्ससहित १८ को मृत्यु
नयाँ दिल्ली । भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ संक्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।
एशियाली यस मुलुकमा संक्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो । स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।
स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे ।
उनले भने, ‘आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ ।’
घटनामा अधिकांश व्यक्तिको निशास्सिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितपरिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।