एनआरएनए यूके महासचिवमा जीत रानाभाटको उम्मेद्वारी
लन्डन । एनआरएनए यूके सचिव जीत रानाभाटले आगामी निर्वाचनमा महासचिव पदमा उम्मेद्वारी दिने भएका छन् ।
यसअघि कार्यसमितिको सदस्य र सचिवका रुपमा एकएक कार्यकालको अनुभव लिइसकेका रानाभाट अब संस्थाको थप जिम्मेवारी बोक्ने आकांक्षासहित महासचिवमा उम्मेद्वारी दिने तयारीमा जुटेका हुन् ।
सन् २००८ देखि नै एनआरएनए अभियानमा संलग्न उनले दुई कार्यकाल कार्यसमितिमै रहेर काम गरिसकेपछि संस्थाको लागि अझ बढी योगदान दिन उत्प्रेरित बनेको बताए ।
‘एनआरएनए अभियानप्रतिको पहिल्यैदेखिको लगाव र केही गरौं भन्ने हुट्हुटीले यसपटक मलाई महासचिवको जिम्मेवारी लिन अग्रसर बनाएको छ’, रानाभाटले नेपाली लिंकसँग भने, ‘ अभियानमा सँगसंगै काम गर्दै आएका सहकर्मी, अग्रज र शुभचिन्तकहरुको शुभेच्छाले थप प्रोत्साहन र हौसला दिलाएको छ ।’
एनआरएनए यूके वृत्तमा एक बौद्धिक र जुझारु अभियन्ताको छवि बनाउन सफल छन् रानाभाट ।
एनआरएनए यूकेको व्यापार तथा व्यवसाय प्रवर्द्धन् विभाग प्रमुखको रुपमा उनले विभिन्न समयमा बेलायतस्थित नेपाली व्यवसायीका लागि उपयोगी र सहयोगमुलक कार्यक्रम गर्दै आएका छन् ।
कोभिड महामारीपाछि एनआरएनए यूकेले संचालन गरेको सहायता अभियानमा पनि सक्रियतापूर्वक जुटे रानाभाट । महामारीका बेला अफ्टेरोमा पर्ने विद्यार्थी, पूर्व गोर्खा, वृद्ध-वृद्धा लगायतको सहयोगका लागि संचालित हेल्पडेस्कमा संयोजकको भूमिका उनले निभाए ।
नेपाली वेल्फेयर सोसाइटी यूकेले महामारीबाट प्रभावित नेपालका विभिन्न २२ जिल्लाका विपन्न परिवारलाई राहत वितरण गर्ने क्रममा पनि सक्रियतापूर्वक् खटिए रानाभाट ।
उनले ’रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ को कोभिड सहायता तथा जनचेतना अभियानको संयोजन पनि गरे ।
एनआरएनए यूकेको सन् २०१७-२०१९ कार्यसमितिमा सदस्य र २०१९-२०२१ कार्यसमितिमा सचिव पदमा निर्वाचित भएका थिए रानाभाट ।
बेलायतका थुप्रै र प्रमुख नेपाली संघसंस्थासँग नजिकको सम्बन्ध बनाएका उनको एनआरएनए यूके महासचिवको उम्मेद्वारी सशक्त ठानिएको छ । एनआरएनएका रिजनल र अन्तरराष्ट्रिय सम्मेलनहरुमा नियमित सहभागी बन्दै आएका उनले आइसीसीको नेटवर्कमा पनि राम्रो सम्पर्क स्थापित गरेका छन् ।
लाखौं नेपालीको प्रतिनिधि संस्थाका रुपमा रहेको एनआरएनए यूकेलाई बेलायतका सम्पूर्ण नेपालीको सुखदुखको साथी बनाउनुपर्ने आवश्यकता उनले मनन् गरेका छन् ।
’त्यही आवश्यकतालाई पूरा गर्ने गरी संस्थाको महासचिवका रुपमा संयोजनकारी भूमिका निभाउन सक्छु भन्ने आत्मविश्वास मसँग छ’, बेलायतवासी नेपालीसमक्ष अपिल गर्दै उनी भन्छन् ’हाम्रो संस्थाको सान र मान बढाउने गरी काम गर्ने मेरो अठोट छ । तपाईंहरुको साथ, सहयोग र सल्लाह, सुझावका लागि हार्दिक अनुरोध गर्दछु ।’
नेपाली नागरिकताको निरन्तरता, पूर्व गोर्खाका अधिकार स्थापना, सामुहिक लगानी प्रवर्द्धनसहितका एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता उनको छ ।
केही समयभित्रै एक औपचारिक कार्यक्रममार्फत् आफ्नो उम्मेद्वारी घोषणा र प्रतिवद्धतापत्र सार्वजनिक गर्ने रानाभाटले जनाएका छन् ।
एकेडेमिक पृष्ठभूमि, सामाजिक सक्रियता
रानाभाट एनआरएनए यूके वृत्तमा एक बौद्धिक र एकेडेमिक व्यक्तित्वका रुपमा चिनिन्छन् । पोखरा युनिभर्सिटीबाट अंग्रेजी साहित्यमा विशिष्ट श्रेणीमा मास्टर्स उत्तीर्ण गरेका उनले एमफिलसम्मको अध्ययन पनि विशिष्ट श्रेणीमै पूरा गरेका छन् ।
नेपालमा प्राध्यापन र शैक्षिक संस्था व्यवस्थापनमा एक दशक बढी समय बिताएका रानाभाट सन् २००८ मा ‘हाईली स्किल्ड् माइग्रेन्ट’ का रुपमा बेलायत आएका थिए । बेलायतमा उनले निर्माण व्यवसाय संचालन गर्नुका साथै प्रपर्टी बिजनेसमा समेत संलग्न रहंदै आएका छन् ।
साउथ इष्टको प्लमस्टिडमा दुई छोरी र श्रीमतीसहित बस्दै आएका रानाभाट नेपालमा पोखराका हुन् ।
एनआरएनए अभियानका साथै अन्य थुप्रै संस्थामा आबद्ध रहेर रानाभाट सामाजिक कार्यहरुमा सक्रिय रहंदै आएका छन् । साउथ इष्ट लन्डनका नेपालीहरुको साझा संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ मा महासचिव र उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका उनी हालै मात्रै संस्थाको सर्वसम्मत अध्यक्ष बनेका छन् ।
‘नेप्लिज् प्रोफेसनल्स् यूके’, यती नेपाली एशोसिएसन् यूके, क्षेत्री समाज यूके, पशुपतिनाथ मन्दिर प्लमस्टिड लगायतका कयौं संस्थामा कार्यसमितिका महत्वपूर्ण भूमिकामा रहेका उनी आधा दर्जन बढी संघसंस्थामा सल्लाहकारको रुपमा पनि आबद्ध छन् ।
साउथ इष्ट लन्डनका ग्रीनवीच र बेक्सली काउन्सिलसँग समेत नजिक रहेर काम गर्दै आएका छन् रानाभाटले । महामारीका बेला समुदायमा पुर्याएको सहयोगको कदरस्वरूप उनलाई हालै बीबीसी लन्डन रेडियोले ’मेक अ डिफरेन्स् हिरो’ को रुपमा कदर गरेको थियो । ग्रीनवीच र बेक्सली काउन्सिलले समेत ‘लकडाउन हिरो’ को रुपमा उनको सामाजिक कार्यको पहिचान गरेका थिए ।