लण्डन । गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुलाई लक्षित गर्दै हटलाईन (टेलिफोन) सेवा शुरु गरेको छ । भारतमा तीव्र रुपमा कोरोना संक्रमण बढ्न थालेपछि संघले उक्त कदम चालेको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार कोभिड १९ प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भएपछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको शुरुवात गरेको हो ।
कोरोना भाइरस सम्बन्धी कुनै समस्या भए भारतमा रहेका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप वा इमेलमार्फत त्यहाँ रहेका चिकित्सकहरुसंग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ ।
हटलाइन मार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने छन् ।
सो सेवा संचालन गर्न डा. अरुण पौडेल (नयाँ दिल्ली), डा. अविरल निधी (नयाँ दिल्ली ), डा. सागर पौडेल (नयाँ दिल्ली), प्रभात अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो ।
कोरोना भाइरस संक्रमणका कारण हालसम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार बढी नेपालीमा संक्रमण देखिएको छ ।