सोमबार, पुष २९, २०८१
09:01 | १४:४६

महामारीमा स्वीन्डनका नेपालीको सहयोग बेलायती सांसदले गरे तारिफ

नेपाली लिङ्क अप्रिल २९, २०२१

लन्डन । कोरोना महामारीका बेला बेलायतको स्वीण्डन क्षेत्रका नेपालीहरुले स्थानीय समुदायलाई पुर्‍याएको सहयोगको बेलायती सांसदहरुले प्रशंसा गरेका छन् ।  

नर्थ स्वीण्डनका सांसद जस्टिन टमिल्सन् र साउथ स्वीण्डनका सांसद रोबर्ट बकल्यान्डले संयुक्त रुपमा पत्र पठाउंदै नेप्लिज् एशोसिएसन अफ वील्शायर, स्वीण्डनलाई उल्लेखनीय योगदानका लागि धन्यवाद ज्ञापन गरेका छन् ।  

पत्रमा सांसदद्वयले ‘कोभिड महामारीका बेला स्थानीय समुदायमा गरेको विशिष्ट कार्यको लागि धन्यवाद’ भनिएको छ ।  

समाजले महामारी शुरु भएलगत्तै सहायता अभियान चलाएको र स्थानीय अस्पातलको लागि जुटाएको तीन साताभित्रै १० हजार पाउन्डको आर्थिक सहयोग जुटाएर ठूलो सहयोग पुर्याएको सांसदहरुको भनाइ छ ।  

स्थानीय स्वास्थकर्मी, प्रहरी एवम् सडक जीवन बिताउन बाध्य मानिसहरुसम्मको लागि समाजको तर्फबाट निशुल्क भोजन उपलब्ध गराइएकोमा पनि उनीहरुले प्रशंसा गरेका छन् ।  

‘बेलायतमा महामारी शुरु भएदेखि गत वर्षको पूरै अवधिभर नेप्लिज् एशोसिएसन अफ वील्शायर स्थानीय स्तरमा महत्वपूर्ण सहयोग पुर्‍याउन सधैं अग्रपंक्तिमा खटिएको छ’, सांसदहरुले भनेका छन्, ‘एकदमै चुनौतीपूर्ण अवस्थामा नेपाली समुदायले प्रदर्शन गरेको कडा मेहनत र समर्पणको लागि हामी सिंगो समुदायप्रति धन्य छौं ।’

समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङले महामारीका बेला समाजका तर्फबाट गरिएको सहयोगको प्रयास बेलायती सांसदहरुबाट कदर भएकोमा खुशी व्यक्त गरेका छन् ।  

‘विपदको बेला हामीले आफ्नो कर्तव्यको रुपमा आफूहरु बसेको समुदायलाई सक्दो सहयोग गर्ने कोशिश् गरेका हौं’, उनले भने, ‘आज त्यही कार्य यहाँका सांसदहरुले पहिचान गर्दा हामीलाई भविष्यमा थप लगावका साथ सामाजिक कार्यहरुमा जुट्ने प्रेरणा मिलेको छ ।’

अध्यक्ष गुरुङले महामारीका बेला समाजको सहयोग अभियानमा खटिने सिंगो कार्यसमिति, समाजका अगुवा, सहयोगी व्यवसायीसहित सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।  

सांसदहरुले पठाएको पत्र:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू