क्यान्सरपीडित तामाङलाई राजशान्ति फाउन्डेसन बेलायतले पठायो उपचार खर्च
लन्डन । राजशान्ति फाउन्डेसन बेलायतले स्तन क्यान्सरपीडित लमजुङ दोर्दी गाउँपालिका-६ खेपुवा निवासी धनसिरी तामाङको उपचारमा सहयोग गरेको छ ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचारत ५७ वर्षीया तामाङलाई जुनकिरी दोहोरी घरमार्फत् ४ लाख ६९ हजार ५ सय ३१ रुपैया ५८ पैसा हस्तान्तरण गरिएको फाउन्डेसनका संस्थापक गैरआवासीय नेपाली संघ बेलायतका सल्लाहकार एवम् गीतकार राजकुमार सुनारले बताए ।
सहयोग रकम फाउन्डेसनका नेपाल प्रमुख वरिष्ठ संगीतकार बिबी अनुरागी र सहसचिव समिप विश्वकर्माले जुनकिरी दोहोरी घरको लाइभ लोकदोहोरी कार्यक्रममार्फत् गत अप्रिल २३ का दिन बिरामी धन सिरी तामाङलाई हस्तान्तरण गरेका हुन् ।
स्थानीय लालबहादुर तामाङकी श्रीमती बिरामी भएकोबारे लुकेको खबर युटुब च्यानलका संचालक राजन परियार, इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेल र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले सार्वजनिक गरेपछि फाउन्डेसनले गत २२ फेब्रुअरीबाट सहयोग संकलन अभियान शुरु गरेको थियो ।
उक्त अभियानमा बेलायतका ८० जना दाताले सहयोग गरेका थिए । अभियानमा प्रमुख सहसंयोजक बनी फाउन्डेसनकी संस्थापक शान्ति सुनार र कल्पना कुवंरले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
अभियानका क्रममा लमजुङ फुटबल टीम बेलायतका २५ जना खेलाडीले पनि १ लाख ५२ हजार एस् सय ७४ रुपैंया ५६ पैसा जम्मा गरेर राजशान्ति फाउन्डेसनलाई दिएका थिए । जसका लागि फुटबल खेलाडी हिरा गुरुङले मुख्य भूमिका निभाएका थिए ।
अभियानमा सम्पूर्ण आर्थिक तथा वैधानिक व्यवस्थापनको कार्य फाउन्डेसनका सचिव सृष्टि सुनार, रुपेशराज सुनार र कोषाध्यक्ष सचिता सुनारले सम्हालेका थिए ।
फाउन्डेसनले गत वर्ष फाल्गुनमा पनि लमजुङ सदरमुकाम बेशीशहरमा ‘अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ को नारासहित आयोजित लमजुङ जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति लमजुङसँग मिलेर मुख्य प्रायोजकका रुपमा सहयोग गरेको थियो ।
‘अप्ठेरो परेको बेला राष्ट्र र कुनै पनि दुखी, गरीब नेपालीलाई सहयोग गर्न कहिल्यै पछाडि पर्नु हुँदैन’, फाउन्डेसन संस्थापक सुनार भन्छन्- ‘दुखीको सेवा गर्नुभयो भने धर्म गर्न मन्दिर जानु पर्दैन् ।’
कसैलाई मद्दत गर्दा कुनै पनि जात, धर्म, राजनीति र आफ्नो फाइदा हेर्न नहुने बताउँदै सुनारले भने, ‘दुखीलाई सहयोग गरेर उसको मन खुशी पार्नु भनेको भगवान खुशी हुनु हो । त्यही नै असल मानवको गुण हो ।’
राजकुमार सुनारले राजशान्ति फाउन्डेसन बेलायतको तर्फबाट अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार प्रकट गरे ।
उनले फाउन्डेसनलाई सल्लाह साथै अभियानमा उर्जा दिने लमजुङ समाज बेलायतका अध्यक्ष विश्वजङ गुरुङ, महासचिव परशु गुरुङ, ट्रष्टी पुष्पपराज सुनार, सहसंयोजक कल्पना कुँवर, हिरा गुरुङ, राजन परियार, अनुज अधिकारी, जुनकिरी रोधी घरका संचालक सुकराम रसाइली, उद्घोषक शिक्षा रसाइली (जुनकिरी नानी) लगायतलाई पनि धन्यवाद दिए ।