कोभिडका कारण विदेशमा थप २३ नेपालीको मृत्यु
लण्डन । कोभिडका कारण यो साता भारतमा २० सहित विदेशस्थित २३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सो जानकारी दिएको हो ।
समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको छ ।
समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा २ र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको छ ।
निधन हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये दुई सय पैतालिस जना मध्यपूर्वका छन् ।
अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।
यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका थप नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।