यूकेमा आधा जनसंख्याले पायो कोभिड खोपको पहिलो डोज
लन्डन । बेलायतमा कुल जनसंख्याको आधा मानिसले कोभिड खोपको पहिलो डोज पाएका छन् ।
एनएचएस इंग्ल्याण्डका अनुसार हालसम्म इंग्ल्याण्डमा कोभिड खोपका ३ करोड ८१ लाख ८९ हजार ५ सय ३६ डोज बांडिएको छ । जसमध्ये २ करोड ८१ लाख २ हजार ८ सय ५२ पहिलो डोज हुन् ।
पछिल्लो एक दिनमा मात्रै इंग्ल्याण्डमा १ लाख बढी डोज खोप वितरण भएको छ ।
बेलायतको कुल जनसंख्या अहिले ६ करोड ६७ लाखको हाराहारीमा रहेको ठानिन्छ । इंग्ल्याण्डमा खोप लिनेहरुको संख्यामा स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डमा खोप लिनेको संख्या थप गर्दा बेलायतको कुल जनसंख्याकै आधाभन्दा बढी हुन आउँछ ।
बेलायतले उमेर, स्वास्थ्यअवस्था लगायतका आधारहरुमा प्राथमिकता निर्धारण गरेर समूहगत रुपमा खोप वितरण गर्दै आएको छ ।
अहिलेसम्म बेलायतमा आम प्रयोगको अनुमति पाएका फाइजर बायोनटेक, अक्सफोर्ड एस्ट्राजेनिका र मोडर्ना खोप वितरण भइरहेका छन् ।