आइतबार, मंसिर ९, २०८१
14:30 | २०:१५

टी–२० क्रिकेटमा सय खेल खेल्ने पहिलो नेपाली बने सन्दीप

रासस अप्रिल २२, २०२१


काठमाडौँ, ९ वैशाख– लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए । उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन् ।

हाल जारी त्रिदेशीय सिरिजमा सन्दीपले चार खेलमा ११ विकेट लिइसकेका छन् । नेदरल्याण्ड्ससँग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिएका थिए । लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाएका छन् ।

उनले २५ टी–२० खेलमा ४५ विकेट लिएका छन् । यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उनले ३२ खेलमा ४१ विकेट लिएका छन् । टी–२० मा लामिछानेले ७५ वटा टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका हुन् ।

टी–२० अन्तरराष्ट्रिय खेलमा उनले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेलेका हुन् । सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तरराष्ट्रिय खेलमा उनले ‘डेब्यु’ गरेका थिए । लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुन् ।

डेब्यु खेलमै कमलसिंह ऐरीको तीन विकेट

नेपालका कमलसिंह ऐरीले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको मलेसियाविरुद्धको खेलमा डेब्यु गर्दै २० वर्षीय ऐरीले तीन विकेट लिए ।

त्रिदेशीय सिरिजअन्तर्गत आजको खेलमा उनले तीन दशमलव एक ओभर बलिङ गर्दै १६ रन मात्र खर्चिए । ऐरी अविनाश बोहराको स्थानमा टोलीमा समावेश भएका हुन् । उनले आफ्नो दोस्रो ओभरमा मलेसियामा शार्भिन मुनिएन्डीलाई तथा वीरनदीप सिंहलाई पेभेलियन फर्काए भने तेस्रो ओभरको पहिलो बलमा मोहम्मद वाकिफलाई कुशल मल्लद्वारा क्याचआउट गराएका थिए ।

महेन्द्रनगर घर भएका ऐरीले गत वर्ष नेपालमै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उक्त खेलमा उनी विकेटविहीन रहे ।

करण केसी विश्व रेकर्ड बनाउनबाट चुके

यहाँ जारी त्रिदेशीय टी–२० सिरिजमा नेपाली बलर करण केसी विश्व रेकर्ड बनाउनबाट चुकेका छन् । मलेसियाविरुद्धको खेलमा उनले उत्कृष्ट ब्याटिङ गरे । आठौँ नम्बरमा ब्याटिङका लागि मैदानमा प्रवेश गरेका केसीले १३ बलमा ४५ रन बनाए ।

यस क्रममा उनले सात छक्का हाने । केसीले ११ बलमा ४४ रन बनाएका थिए । उनले १२औँ बलमा छक्का प्रहार गर्न सकेको भए सबैभन्दा छिटो अर्धशतकको विश्व रेकर्ड बराबरी गर्ने थिए ।

तर, केसीले १२औँ बलमा एक रन मात्र बनाएर विश्व कीर्तिमान बनाउनबाट वञ्चित रहे । हाल १२ बलमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय क्रिकेट खेलाडी युवराज सिंहको नाममा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू