बेलायतमा कोरोनाबाट एकसातामा १६८ को मृत्यु
२४ घन्टामा २२ जनाको मृत्यु
लन्डन । बेलायतमा २४ घन्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
पछिल्लो एक सातामा बेलायतमा कोरोनाका कारण १६८ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साताको तुलनामा यो साता मृतक संख्यामा २८.२ प्रतिशतले कमी आएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ ।
योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ३२७ पुगेको छ । तर, मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या एक लाख ५० हजार ८४१ पुगेको छ ।
यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ३ सय ९६ संक्रमित थपिएका छन् । यससंगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ९५ हजार ७०३ पुगेको छ ।
एकसातामा १७ हजार २३९ जना नयाँ संक्रमित थपिएका छन् । एकसाताभित्र संक्रमित संख्यामा पनि ९.४ प्रतिशतले ह्रास आएको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख १ हजार ६४२ छ भने ४१ लाख ६६ हजार ७३४ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि कमी आएको छ । हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३०० मा झरेको छ ।
त्यस्तै, पछिल्लो तथ्यांक अनुसार १९२ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार ४ छ ।
४ करोड ३९ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ३९ लाख १५ हजार ५५९ डोज खोप वितरण भएको छ ।
तीन करोड ३१ लाख ३९ हजार ७४२ जनाले खोपको पहिलो र एक करोड ७ लाख ७५ हजार ८१७ जनाले दोस्रो डोज लिएका छन् ।