च्यारिटी साइकल यात्रीलाई क्रोयडनमा स्वागत
लन्डन । लन्डन वुल्वीचदेखि ब्राइटनसम्म च्यारिटी साइकल यात्रामा निस्किएका नेपाली यात्रीलाई क्रोयडनमा स्वागत गरिएको छ । क्रोयडन नेपाली समाजले साइकल यात्रीलाई उनीहरुको पहिलो ‘रेष्ट पोइन्ट’ क्रोयडन एसबर्टन पार्कमा स्वागत गर्दै पानी, पोष्टिक पेय पदार्थ र रिफ्रेसमेन्ट प्रदान गरेको समाजका अध्यक्ष डा. सुरजमणि पौडेलले बताए ।
‘सामाजिक सेवाका लागि भएको साइकल यात्रा आफैंमा प्रशंसनीय छ । हामीले यात्रीहरुलाई प्रोत्साहित गर्न सानो कार्यक्रम गरेका हौं’, अध्यक्ष पौडेलले भने ।
अध्यक्ष पौडेलले अगाडि थपे, ‘समाज आजको कार्यक्रमबाट प्रोत्साहित भएको छ, निकट भविष्यमा हामी पनि यस्तै खालको कार्यक्रम गर्ने योजनामा छौं ।’
समाजका सचिव केशव ढकालले च्यारिटी साइकल यात्रामा सहभागीलाई स्वागत गर्ने अवसर पाउँदा खुशी लागेको बताए ।
क्रोयडन नेपाली समाज यूकेका संस्थापक अध्यक्ष तथा साइकल यात्रा आयोजक एनआरएनए इंग्ल्याण्डका कोषाध्यक्ष ध्रुवहरि बाँस्कोटाले स्वागत कार्यक्रम व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । संस्थापक सदस्य मदन खपांगीले पार्कमा खाजा व्यवस्थापनमा सहयोग गरेका थिए ।
सो अवसरमा यात्रीहरुलाई हौसला दिन समाजका कार्यकारिणी सदस्यहरु सुनिता श्रेष्ठ, सकुन्तला राई खपांगी, राकेश शाहलगायत उपस्थित थिए ।
नेपालस्थित अनाथ बाल गृह र वृद्धाश्रमको सहयोगार्थ एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदले च्यारिटी साइकल यात्रा गरेको हो । च्यारिटी यात्रामा २३ जना सहभागी छन् ।
शनिबार बिहान ८ बजे साउथ इष्ट लन्डनको वुल्वीचबाट ब्राइटनतर्फ प्रस्थान गरेको उक्त टोली ६४ माइल लामो यात्रा करिब ८ घण्टा लगाएर दिउंसो ४ बजेसम्म पूरा गर्ने योजनामा छ ।