१३ बुँदे कार्यान्वयनका लागि दूतावासलाई गेसोको दबाब
लन्डन । भूतपूर्व गोर्खाहरुको पुरानो संगठन ‘गोर्खा भूतपूर्व सैनिक संघ’ (गेसो) ले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीलाई स्वागत गरेको छ ।
गेसोका कार्यवाहक सभापति धर्म तामाङको बिहीबार दूतावास पुगेका गेसोका पदाधिकारीले संस्थाको तर्फबाट राजदूतको औपचारिक स्वागत गरे ।
त्यस अवसरमा गेसोका पदाधिकारी र राजदूत रेग्मीबीच गोर्खाहरुको लामो समयदेखि जारी आन्दोलनका विषयमा पनि छलफल भएको कार्यवाहक सभापति तामाङले नेपाली लिंकलाई जानकारी दिए ।
गेसोका पदाधिकारीले प्राविधिक संयन्त्रका तर्फबाट बुझाइएको १३ बुँदे सिफारिश कार्यन्वयनका लागि सार्थक पहल गरिदिन राजदूत रेग्मीलाई आग्रह गरेका थिए ।
दुई देशका सरकारस्तरीय वार्ता नै समस्या समाधानको एक मात्र बाटो रहेको भन्दै उनीहरुले बेलायत सरकारलाई संवादका लागि तयार पार्नुपर्ने धारणा राखेका थिए ।
त्यसअवसरमा राजदूत रेग्मीले कूटनीतिक माध्यमबाटै गोर्खा मुद्धाको हल खोजिनुपर्ने बताएका थिए । गोर्खाहरुको मुद्धालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै उनले बेलायतसँग आवश्यक संवादका लागि पहल थाल्ने आश्वासन दिएका थिए ।
राजदूतसँगको छलफलमा गेसो कार्यवाहक अध्यक्ष तामाङसंगै महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन, प्राविधिक संयन्त्र सदस्य नरहाङ राई र मानबहादुर गुरुङको पनि सहभागिता थियो ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले कार्यवहाक धर्म तामाङ, नरहाङ राई र मानबहादुर गुरुङको पनि सहभागिता थियो ।