बिहीबार, मंसिर १३, २०८१
16:56 | २२:४१

अफगानिस्तानस्थित अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने तयारी

रासस–एएफपी अप्रिल १४, २०२१


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेको उनीनिकट अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो । कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा लिएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो । झण्डै १२ हजार सैनिकमध्ये हाल अफगानिस्तानमा करिब २ हजार ५०० जना मात्र छन् ।

तर अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकी सेनाको फिर्ती के हुने भन्नेमा अन्यौल भएपछि पाँच महिनायता अमेरिकी सेना फिर्ता हुने क्रम रोकिएको छ ।

झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयास स्वरुप टर्कीले सर्वपक्षीय अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणा लगत्तै सेना फिर्तीबारे अमेरिकी अधिकारीहरुको यस्तो भनाइ सार्वजनिक भएको हो । यद्यपि तालिबानले उक्त सम्मेलन बहिस्कार गर्ने बताएका छन् ।

अफगानिस्तानबाट अमेरिकी फिर्तीको घोषणा भने राष्ट्रपति बाइडेनले बुधबार गर्नेछन् । यद्यपि अमेरिकाले अल–कायदा वा इस्लामिक स्टेट अतिवादी समूह समेतका कतिपय परिस्थितिको सामना गर्न सानो संख्यामा सेना राख्ने बारेमा केही समयदेखि विचारविमर्श गरिरहेको थियो ।

ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा तालिबानसँग गरेको सम्झौतामा सम्पूर्ण अमेरिकी फौज मे २०२१ भित्र स्वदेश फर्कने उल्लेख छ । तर यसको बदलामा तालिबानले अल–कायदा र अन्य विदेशी आतंकवादी समूहलाई समर्थन गर्न नहुने रहेको छ । सन् २००१ मा अमेरिकी सेना अफगानिस्तानमा प्रवेश गर्नुको मुख्य कारण पनि अल–कायदालाई तालिबानको समर्थन प्रमुख विषय थियो ।

बाइडेननिकट अधिकारीले सेना फिर्तीको कार्यक्रम आगामी मे महिनाबाट शुरु हुने जानकारी दिए । उनले अफगानिस्तान छाड्न लागेका गठबन्धन मुलुकका सेनामाथि लक्षित गरी आक्रमण नगर्न पनि चेतावनी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू