सोमबार, पुष २९, २०८१
02:43 | ०८:२८

बेलायतले विदेशी स्वास्थ्यकर्मीको भिसा निशुल्क थपिदिने, नेपालीलाई पनि लाभ

नेपाली लिङ्क अप्रिल १३, २०२१


लन्डन । बेलायतमा कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिएका विदेशी स्वास्थकर्मीहरुको भिसा थप एक वर्ष निशुल्क बढाइने भएको छ ।  

आउंदो अक्टोबर १ तारिखभित्र भिसा अवधि सकिन लागेका विदेशी स्वास्थकर्मी र उनीहरुका ‘डिपेन्डेन्ट्’ समेतको भिसा शुल्कबिनै एक वर्ष थप गरिदिने घोषणा होम अफिसले गरेको छ ।  

निशुल्क भिसा थपको सुविधा बेलायतमा कार्यरत विदेशी डाक्टर, नर्स, प्यारामेडिक्स, मिडवाइफहरु लगायतलाई उपलब्ध हुनेछ । केयर होमहरुमा कार्यरत विदेशी कामदारका हकमा भने यो सुविधा लागू हुनेछैन् ।  

बेलायत सरकारले ल्याएको निशुल्क भिसा थपको सुविधाबाट यहाँ कार्यरत १४ हजार विदेशी डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी लाभान्वित हुने अपेक्षा छ ।  

तर महामारीका बेला संक्रमणको हिसाबले उच्च जोखिमयुक्त केयर होमहरुमा खटिने कर्मचारीलाई पनि समेट्न सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।  

बेलायतले गत वर्ष ल्याएको भिसा थपको सुविधा एक वर्षभित्र १० हजार विदेशी स्वास्थकर्मीले उपयोग गरेको सरकारी तथ्यांक छ ।  

बेलायतमा महामारी शुरु भएलगत्तै गत वर्षको मार्चमै सरकारले अक्टोबरभित्र भिसा सकिने विदेशी डाक्टर, नर्सलाई निशुल्क भिसा थपको घोषणा गरेको थियो । फ्रन्टलाइनमा खटिने थप पेशाकर्मीलाई समेट्दै पछि उक्त सुविधा बिस्तार गरिएको थियो ।  

बेलायतमा हेल्थ एन्ड केयर सेक्टरमा काम गर्नेहरुलाई सामान्यत: तीन वर्षसम्मको भिसाको शुल्क प्रतिव्यक्ति २ सय ३२ पाउन्ड पर्छ भने तीनदेखि पाँच वर्ष सम्मको लागि ४ सय ६४ पाउन्ड बुझाउनुपर्छ । निशुल्क भिसा थप स्वास्थकर्मीका  ‘डिपेन्डेन्ट’ समेतलाई हुने भएकाले झन् बढी उपयोगी हुने  देखिन्छ ।  

लाभ पाउनेमा नेपाली पनि 

बेलायतमा कार्यरत विदेशी स्वास्थ्यकर्मीको निशुल्क एक वर्ष भिसा थप हुने भएपछि यसबाट कयौं नेपाली पनि लाभान्वित हुने भएका छन् ।  

‘बेलायतमा वर्क पर्मिट भिसामा रहेर कार्यरत नेपाली डाक्टर, नर्सको संख्या उल्लेख्य छ । तसर्थ आगामी अक्टोबरभित्र भिसा अवधि सकिने धेरै नेपाली स्वास्थकर्मीले पनि यो सुविधाबाट लाभ पाउने निश्चित छ’, नेप्लिज डक्टर्स एशोसिएसन यूकेका अध्यक्ष डा. रमेश खोजुले भने ।  

डा. खोजुका अनुसार बेलायतमा काम गर्न नेपाली स्वास्थ्यकर्मीहरु आउने क्रम अहिले पनि निरन्तर छ । ‘महामारीका कारण बेलायतमा स्वास्थकर्मीको डिमान्ड स्वभावत: बढ्दै गएको छ । यही अवसर छोपेर कयौं नेपाली पनि आइरहनुभएको छ’, उनले भने ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू