इंग्ल्याण्डमा बंगलादेश र पाकिस्तानबाट यात्रा प्रतिवन्ध, नेपाल पनि जोखिममा !
३९ मुलुक इंग्ल्याण्डको 'रेड लिस्ट' मा
लन्डन । इंग्ल्याण्डले थप ४ मुलुकबाट यात्रा प्रतिवन्ध घोषणा गरेको छ । कोभिड संक्रमणको हिसाबले उच्च जोखिमयुक्त ठानिएका चार मुलुकबाट यही अप्रिल ९ देखि लागू हुने गरी यात्रा प्रतिवन्ध गर्न लागिएको हो ।
इंग्ल्याण्डको ‘रेड लिस्ट’ मा पर्ने नयाँ मुलुकमा दक्षिण एशियाका बंगलादेश, पाकिस्तानसहित फिलिपिन्स र केन्या पनि छन् ।
यससंगै इंग्ल्याण्डले यात्रा प्रतिवन्ध गरेका देशहरुको संख्या ३९ पुगेको छ ।
अन्य मुलुकबाट कोरोना भाइरस संक्रमण भित्रिन नपाओस् भनेर संक्रमणको उच्च जोखिममा रहेका मुलुकहरुबाट यात्रा प्रतिवन्ध गरिएको हो । विशेषत: भाइरसका नयाँ ‘भेरियन्ट’ फेला परेका र पछिल्लो समय निकै उच्च संक्रमण रहेका मुलुकहरु ‘रेड लिस्ट’ मा राखिएका छन् ।
यो प्रतिवन्ध लागू गरिएका मुलुकहरुबाट इंग्ल्याण्ड आउन पाइनेछैन् । तर बेलायती नागरिक वा बेलायतमै बसोबास गर्नेहरुको लागि भने अनिवार्य ‘होटेल क्वारेन्टिन्’ को शर्तसहित आउने छुट दिइनेछ । उनीहरुले आफ्नै खर्चमा बेलायत सरकारले अनुमति प्रदान गरेको होटेलमा १० दिन क्वारेन्टिन् बस्नुपर्नेछ । त्यस अवधिमा दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ । तर नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिनमै बिताउनुपर्नेछ ।
पछिल्लो समयमा युरोपसहित विभिन्न मुलुकमा संक्रमण तीव्र रुपमा बढ्न थालेसंगै बेलायत सरकारले यात्रा प्रतिवन्धसम्बन्धि कडा नियमहरु लागू गर्दै आएको छ ।
बेलायत प्रवेशमा मात्र नभइ बेलायतबाट बाह्य मुलुकमा जान समेत अत्यावश्यक कामबाहेकका लागि प्रतिवन्ध गरिएको छ ।
नेपाल पनि जोखिममा ?
इंग्ल्याण्डको ‘रेड लिस्ट’ मा पर्नेमा बंगलादेश र पाकिस्तान नै दक्षिण एशियाका पहिलो मुलुकहरु बनेका छन् । उच्च संक्रमण रहेको भारतलाई भने अझै यो सूचीमा राखिएको छैन ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयां भेरियन्ट बढिरहंदा नेपाल पनि त्यो जोखिमबाट अलग छैन् । नेपालमा पुनः अर्को लहर आए बेलायतले आफ्नो रेड लिष्टमा राख्न सक्ने चिन्ता विज्ञहरुको छ ।
‘नेपालमा सुरक्षा मापदण्ड अपनाउन कसैलाई वास्ता छैन् । भारतसंग खुल्ला सीमा भएका कारण नेपालमा पनि कोरोना भाइरसले अर्को लहर आउने सम्भावना अत्यधिक छ’, एक विज्ञले भने ।