आइतबार, पुष २८, २०८१
09:45 | १५:३०

बेलायतमा दैनिक कोरोना संक्रमित सेप्टेम्बरयताकै न्यून

दुई करोड ३३ लाख बढी खोप वितरण

नेपाली लिङ्क मार्च ७, २०२१

लन्डन । बेलायतमा दैनिक कोरोना संक्रमितको संख्या गत वर्ष सेप्टेम्बर यताकै सबैभन्दा कम भएको  सरकारी तथ्यांकले देखाएको छ । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५,१७७ जना नयां संक्रमित थपिएका छन् ।

विगतका केहि दिनहरुमा दैनिक संक्रमितको संख्यामा निरन्तर कमी आएसंगै आइतबारको आज सार्वजनिक तथ्याँक गत वर्ष सेप्टेम्बर २८ पछिकै कम भएको अधिकारीहरुले बताएका छन् ।

सेप्टेम्बर २८ तारिखका दिन ४,०४४ नयां संक्रमितको पुष्टि भएको थियो । गत हप्ताको तुलनामा कोरोना भाइरस संक्रमण दर ३१ प्रतिशतले घटेको समाचार माध्यमले जनाएको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा ८२ जनाको मृत्यु भएको छ । यससंगै मृतक संख्या एकलाख २४ हजार ५ सय १ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या हाल १० हजार ८९८ छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ५४२ रहेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा ४ लाख ४६ हजार १०२ जना भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

दुई करोड ३३ लाख बढी खोप वितरण

आइतबारसम्मको तथ्याँक अनुसार बेलायतमा कोरोना विरुद्धको पहिलो र दोस्रो डोज गरि दुई करोड ३३ लाख भन्दा बढी खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २२ लाख १३ हजार ११२ जनाले पहिलो डोज लिएका छन् । यसैगरी ११ लाख २२ हजार ४०२ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू