म्यानमारमा ५४ प्रदर्शनकारीको मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त
जेनेभा, २० फागुन– म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिएका छन् भने एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेकी छन् ।
म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ ।
संयुक्त राष्ट्र सङ्घकी अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्न आग्रह गरेकी हुन् ।
‘म्यानमारको सेनाले प्रदर्शनकारीको हत्या र जेल चलान रोक्नु पर्छ’, उनले भनिन् ‘यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोलनकारीहरूबिरूद्ध सिधै गोली चलाइरहेको छन् । यो मानव अधिकार विरोधी काम हो । राष्ट्रसंघ यसको घोर निन्दा गर्दछ ।’
बचेलेटले थपिन्, ‘घाइतेलाई उद्धार गर्न पुगेका आपतकालीन स्वास्थ्य कर्मचारी र एम्बुलेन्सबिरूद्ध पनि आक्रमण हुनु घोर आपत्तिजनक कार्य हो ।’
संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला हेर्ने कार्यालयका अनुसार फेब्रुअरी १ देखि प्रहरी र सैनिक अधिकारीहरूले कम्तिमा ५४ व्यक्तिलाई ‘सुरक्षा कारबाही’ का क्रममा मारेको पुष्टि गरेको छ ।
वास्तविक मृत्यु हुने संख्या धेरै बढी हुन सक्ने पनि उक्त कार्यालयले प्रमाणित बताएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको पुष्टि गरिसकिएको छ । म्यानमारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन् ।