बेलायतमा कोभिडविरुद्धको लडाईंमा पनि गोर्खाहरु अग्रमोर्चामै
अस्पताल निर्माणदेखि मोबाइल टेस्टिङसम्ममा खटिंदै गोर्खाहरु
लन्डन । बेलायतका लागि युद्धभूमिमा सधैं अग्रमोर्चामा रहेर लड्दै आएका गोर्खा सैनिकहरु यतिबेला कोरोना महामारीविरुद्धको लडाईंमा पनि अग्रमोर्चामै खटिएका छन् ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण प्रयासमा गोर्खा सैनिकहरुले उल्लेख्य भूमिका निर्वाह गरिरहेका छन् ।
बेलायतमा कोरोना महामारी शुरु भएकै बेलादेखि नै गोर्खा सैनिकहरुको योगदानको प्रशंसा हुँदै आएको छ । गत वर्ष लन्डन र बर्मिंगहममा नाइटिंगेल इमर्जेन्सी अस्पताल निर्माणमा समेत उनीहरुले महत्वपूर्ण भूमिका निभाएका थिए ।
गोर्खाहरुले केन्टमा लरी ड्राइभरहरुको कोरोना परीक्षणमा विशेष सहयोग पुरयाएका छन् । फ्रान्स जान इङ्लिस च्यानल पार गर्न प्रतिक्षारत लरी ड्राइभरको कोरोना परीक्षणमा ‘क्वीन्स गोर्खा इन्जिनियर’ र ‘फर्स्ट बटालियन द रोयल गोर्खा राइफल्स’ का सैनिकहरु पनि खटिए ।
गोर्खा सैनिकहरुले देशभरका विभिन्न हाइवेमा युरोप प्रवेश गर्न लागेका ड्राइभरहरुको लागि स्थापित कोभिड टेष्ट स्टेशनहरुको व्यवस्थापन गरेका छन् ।
सन् २०२१ को शुरुमा ‘६९ फिल्ड स्क्वाड्रोन’ का सैनिकहरुलाई ‘एसिम्प्टोमेटिक लेटरल फ्लो टेस्टिङ’ गर्न केन्टमा खटाइएको थियो । हाल उनीहरुले ‘ल्याटेरल फ्लो टेष्ट र एसिम्प्टोमेटिक टेस्टिङ’ को माध्यमबाट संक्रमण दर कम गर्ने अभियानमा काम गरिरहेका छन् । केन्टमा बस्दै आएका र कोभिड लक्षण नभएकाहरुलाई प्रत्येक दुई हप्तामा यो परीक्षण गरिंदै आएको छ ।
यसैगरी, सन् २०२० को जुलाईबाट ‘क्वीन्स गोर्खा इन्जिनियर’ र ‘क्वीन्स ओउन गोर्खा लजिस्टिक’ ले वेल्समा घुम्ती परीक्षण संचालन गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्वाब संकलन गरी परीक्षण गर्ने स्थानसम्म पुरयाउने जिम्मेवारी उनीहरुले सम्हालेका थिए । साथै, एनएचएस स्टाफहरुसंग मिलेर केयर होम लगायत ठाउँहरुमा परीक्षण संचालन गर्न पनि उनीहरुले सहयोग गरेका थिए ।
गत वर्ष कोरोना महामारी शुरु भएको बेला लन्डन र बर्मिङहममा निर्माण गरिएको नाइटिंगेल इमर्जेन्सी अस्पतालमा गोर्खा सैनिकहरुले इलेक्ट्रिसियन, हिटिङ एण्ड प्लम्बिङ,एअर कन्डिसन र रेफ्रिजेरेसन फिटिङ एवम् कार्पेन्टरको काम गरेका थिए ।
आवश्यक भन्दा बढी घण्टा काम गरेर छोटो समयमा अस्पताल निर्माण गर्न सहयोग पुरयाएर धेरै मानिसहरुको जीवन बचाउन गोर्खालीहरुले ठूलो गुण लगाएका छन् । उनीहरुको काम र मेहनतको कदर गर्दै एनएचएस स्टाफले ठूलो सम्मान गरे ।
बेलायतका लागि दुई सय वर्ष अघिदेखि युद्ध लड्दै आएका गोर्खाहरुले आपत-विपतका बेला जुनसुकै क्षेत्रमा पनि सहयोग पुरयाउन तत्पर रहन्छन् भन्ने सन्देश अहिले छरिरहेका छन् ।
बेलायती सेनामा देखाएको वीरता र बहादुरीका कारण भिक्टोरिया क्रसजस्ता उच्च प्रतिष्ठित सम्मानहरु पाइसकेका गोर्खाहरु अहिले कोरोना भाइरस महामारीविरुद्ध लड्न पनि उस्तै साहस र मनोबलसहित जुटिरहेको भन्दै प्रशंसा बटुल्न सफल भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५