मंगलबार, मंसिर ११, २०८१
14:26 | २०:११

लन्डनमा संक्रमण भएर तीन महिना अस्पताल बसेका पूर्व गोर्खाको निधन

नेपाली लिङ्क जनवरी १३, २०२१

लन्डन । कोरोना संक्रमणबाट बेलायतमा थप एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।

लन्डनको ग्रीनफोर्डमा बस्दै आएका ५९ वर्षीय लालप्रसाद सलामीको सोमबार रोयल ब्रम्पटन हस्पिटलमा निधन भएको उनको परिवारनिकट गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष मतीप्रसाद पुनले नेपाली लिंकलाई जानकारी दिए ।

गत अक्टोबर महिनामै संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको पुनले बताए ।

गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं ४ वोकेंग पुर्तिघाट घर भएका सलामी परिवारसहित लण्डनको ग्रीनफोर्ड बस्दै आएका थिए । उनका श्रीमती र दुई छोरा छन् । बाबुआमा भने नेपालमै छन् ।

‘शुरुमा अक्टोबरमै कोभिड संक्रमण भएर अस्पताल भर्ना हुनुभएको थियो । एक महिना बढी आइसीयूमै राखेर उपचार गरिएपछि सुधार भयो भनेर सामान्य वार्डमा सारिएको थियो’, गुल्मी समाज यूकेका उपाध्यक्ष पुनले भने, ‘पछि फेरि उहाँको स्वास्थ्य अवस्था बिग्रिंदै गयो र सोमबार निधन भयो ।’

मृतक सलामी गुल्मी जिल्ला समाज यूके, मगर संघ यूके वेम्बली मिडलसेक्स शाखा लगायतमा पनि आजीवन सदस्य थिए । सलामीको निधनमा उनी आबद्ध संस्थाहरुले शोक व्यक्त गरेका छन् ।

यकिन तथ्यांक नभएपनि हालसम्म सार्वजनिक भएअनुसार बेलायतमा कोरोना संक्रमणबाट ७५ जनाभन्दा बढी नेपालीको निधन भएको छ । जसमध्ये अधिकांश भूतपूर्व गोर्खा र तीनका परिवारका सदस्य छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू