मंगलबार, मंसिर ११, २०८१
19:37 | ०१:२२

काठमाडौँ उपत्यकामा वायु प्रदूषण भयावह

रासस जनवरी ६, २०२१

काठमाडौं । कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने बताए ।

कार्यक्रममा सहभागी श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको बताए । वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे ।

काठमाडौँमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा ढुङ्गानाले जोड दिए । वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समयसमयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आएको स्मरण गर्दै उनले कार्यान्वयनको पाटो निकै कमजोर रहेको उल्लेख गरे ।

धुम्रपानका कारण मात्र फोक्सोको रोग लाग्ने जानकारी मात्र राख्ने गरेको प्रसङ्ग उल्लेख गर्दै ढुङ्गानाले पछिल्लो समय वायु प्रदूषणका कारण बढीजसो फोक्सोको रोग लाग्ने गरेको बताए । वायु प्रदूषणकै कारण मुटुका रोगीको सङ्ख्या बढ्दै गएको र यसकै कारण पछिल्लो समय हृदयघातबाट ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भइरहेको डा ढुङ्गानाले जानकारी दिए ।

नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको उनले बताए । शहरलाई हरियाली बनाउनुपर्ने, फोहर बिसर्जन उचित ढङ्गले गर्नुपर्ने, दाउराको प्रयोग घटाउनुपर्ने, इन्धनबाट चल्ने सवारीसाधनको सङ्ख्या घटाउनुपर्नेलगायत कुरामा ढुङ्गानाले जोड दिए ।

वातावरण विज्ञ भूषण तुलाधरले डेढ दशकअघि भक्तपुर र ललितपुरका बासिन्दाले इँटाभट्टा बन्द गर्नुपर्ने मागसहित गरेको अन्दोलन जस्तै फेरी वायु प्रदूषण कम गर्न सचेत हुनुपर्ने बताए । सरकार र नागरिक मिलेर अभियान सञ्चालन गर्नसके वायु प्रदूषण घट्दै जाने उनको भनाइ थियो । इँटाभट्टा बन्द भएपछि भक्तपुरमा वायु प्रदूषणमा डेढ दशकअघि २४ प्रतिशतले सुधार आएको तुलाधरणले स्मरण गरे ।

वायु प्रदूषण कम गर्नका लागि काठमाडौँ उपत्यकाका जनता जाग्नुपर्ने बेला आएको तुलाधरले उल्लेख गरे । तुवाँलो लाग्दा वायु प्रदूषण बढी तथा घाम लाग्दा कम हुने भ्रममा अधिकांश रहेको उल्लेख गर्दै उनले उपत्यकामा जुनसुकै बेला पनि वायु प्रदूषण बढ्दै गएको उनको भनाइ थियो । उपत्यकामा २० बर्से सवारी साधनको विकल्प खोज्न उनले सरकारसँग माग गरे । सबैभन्दा बढी यातायातका साधनका कारण वायु प्रदुषण बढेको तुलाधरको भनाइ थियो । सडकमा पैदल हिँड्ने सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै उनले न्यून आम्दानी भएका, वृद्धवृद्धा र बालबालिकाको ज्यान वायु प्रदूषणका कारण खतरामा परेको बताए ।

पूर्वप्रशासक डा सुधा शर्माले प्रदूषण कम गर्न सन्धिमा मात्र ध्यान दिएको तर त्यसको कार्यान्वयनतर्फ चासो नदिँदा वायु प्रदूषण अब सबैभन्दा बढी खतरनाक बन्दै गएकामा चिन्ता व्यक्त गरिन् । देशभरका स्वास्थ्य संस्थामा नै बढीजसो फोहर पदार्थ रहेको र त्यसको उचित ढङ्गले बिर्सजन गर्न नसक्दा जोखिम बढेको उनको भनाइ थियो ।

अन्य क्षेत्रमा जस्तै वायु प्रदूषणबाट पनि महिला बढी प्रभावित भएको शर्माले बताइन् । दाउरा प्रयोग गर्दा भान्साबाटै बढी वायु प्रदूषण हुने भएको र महिला चुलोचौकोमै सीमित रहँदा धुवाँबाट बढी आर्जित भएको उनको भनाइ थियो । शहरीकरणले तीव्रता पाएपछि वायु प्रदूषण झन धेरै बढेको उनले उल्लेख गरिन् ।

प्रतिष्ठानका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि ठूलो समस्या भएको बताए । यति ठूलो समस्याबारे सरकार मौन रहन नहुने उनको भनाइ थियो । मानवलाई केन्द्रमा राखेर मात्र हरेक गतिविधि अगाडि बढाउनुपर्नेमा जोशीले जोड दिए । वायु प्रदूषणबारे समयमै सबै सचेत नभए आपतकालीन अवस्था आइलाग्ने उनले उल्लेख गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू