लण्डनमा कोरोनाबाट मृत्यु भएका थापाको अन्त्येष्टी
लण्डन । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका पूर्व गोर्खा घनवीर थापाको अन्त्येष्टी गरिएको छ ।
लण्डन, किंग्स्टनको ‘किंग्स्टन सिमेट्री एण्ड क्रिमटोरियम’मा सोमबार थापाको अन्त्येष्टी गरिएको हो ।
अन्त्येष्टी कार्यक्रममा उनको परिवारका सदस्यसहित जम्मा ६ जना मात्रै सहभागी भएका थिए ।
स्वर्गीय थापाकी पत्नी भिमकुमारी थापा भने पतिको अन्तिम संस्कारमा सहभागी हुन सकिनन् ।
पाल्पा जिल्लाको सत्यवती गोठादी घर भएका ७५ वर्षीय थापाको कोरोना संक्रमणका कारण लण्डनको किंग्स्टन अस्पतालमा उपचारकै क्रममा दश दिनअघि मृत्यु भएको थियो ।
स्वर्गीय थापाका दुई छोरा र एक छोरी छन् । जसमध्ये एक छोरा र छोरी नेपालमा छन् भने अर्का छोरा बहराइनमा छन् ।
थापा भने पत्नी भिमकुमारीका साथ सन् २००९ देखि बेलायतमा बस्दै आएका थिए ।
यसअघि कोरोनाको कारण थापाको मृत्यु भएपछि उनको अन्त्येष्टीको लागि भन्दै एनआरएनए यूकेले ५ सय पाउण्ड आर्थिक सहयोग गरेको थियो ।
गोर्खा समन्वय विभागका संयोजक समेत रहेका एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा मगरले थापाको घरमै पुगेर मृतककी पत्नी भिमकुमारीलाई सहयोग हस्तान्तरण गरेका थिए ।