शुक्रबार, मंसिर ७, २०८१
04:04 | ०९:४९

बीबीसी मास्टर सेफको उपविजेता बने सन्तोष

नेपाली लिङ्क डिसेम्बर १७, २०२०

लण्डन । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको उपविजेता बनेका छन् ।

बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जिते ।

संसारभरका विभिन्न कुइजिनहरुको प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धामा ‘ग्रयाण्ड फिनाले’ सम्म पुगेका नेपालका सन्तोष उपविजेता बने । ‘तर नेपाली खाना विश्वसामु पुरयाउन र लाखौं नेपालीको मन जित्न सफल भएकोमा त्यसलाई मैले उपाधि भन्दा ठूलो उपलब्धि ठानेको छु’, सन्तोषले नेपाली लिंकसंग भने ।

बिहीबारको फाइनल एपिसोडमा नेपाली ढाकाटोपीमा सजिएर उपस्थित थिए सन्तोष । त्यसअवसरमा उनको बारेमा बीबीसीले तयार पारेको एक भिडियो सामग्री देखाइएको थियो जसमा सन्तोषले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए ।खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ’ऐला’ पनि सर्भ गरेका थिए । 

संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषले फाइनलसम्मको प्रभावशाली यात्रा तय गरे । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका दर्जनौं मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोषले देश विदेशका लाखौं नेपालीको मन जितेका छन् ।

सानै उमेरमा भारत पसेका सिरहा कर्जन्हाका सन्तोष लामो संघर्ष र मेहनतपछि यो स्थानसम्म आइपुगेका हुन् । यसक्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि मेसिलिन स्टार रेष्टुरेन्टहरुसम्ममा कामको अनुभव लिइसकेका छन् ।

नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवर्धनमा निरन्तर जुटिरहने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू