यूकेको स्वीण्डनमा बेरोजगारी कम गर्न नेपाली समाजले दियो सेक्युरिटी तालिम
५ दिने तालिममा ३० नेपाली सहभागी
लण्डन । बेलायतको स्वीन्डन आसपासका क्षेत्रमा बस्ने नेपालीहरुको संस्था ‘नेप्लिज् एशोसिएशन अफ विल्शायर’ ले आफ्ना सदस्यहरुको लागि सेक्युरिटी तालिम संचालन गरेको छ ।
नोभेम्बर ३० मा शुरु भएर डिसेम्बर ४ मा सम्पन्न ५ दिने तालिममा सो क्षेत्रका ३० जना नेपाली सहभागी भए ।
ओजास् सेक्युरिटी ट्रेनिङ कम्पनीसँगको सहकार्यमा संचालित ‘एसआइए’ सेक्युरिटी तालिममा मुख्यत: युवाहरुको सहभागिता थियो । एक महिला र केही वयस्क पुरुषहरुले समेत तालिमको लाभ उठाएको समाजले जनाएको छ ।
कोरोना महामारीका बेला स्थानीय युवाहरुमाझ देखिएको बेरोजगारीको समस्या कम गर्ने उद्धेश्य राखेर तालिम संचालन गरिएको समाजका अध्यक्ष ज्ञान गुरुङले बताए ।
समाजका सदस्यहरुलाई तालिम लिनका लागि सहज वातारण बनाउनुका साथै आर्थिक भार समेत कम गर्ने कोशिश समाजले गरेको उनले बताए ।
समाजका तर्फबाट तालिमका लागि संयोजन र हल व्यवस्थापन गरिएको थियो भने तालिम दिने कम्पनीसंग समन्वय गरी प्रशिक्षार्थीहरुलाई सहुलियत दर मिलाइएको थियो ।
‘हामीले समाजकै संयोजनमा पहिलोपटक सेक्युरिटी तालिम चलाएका हौं । हाम्रो समुदायका सदस्यहरुको उल्लेख्य सहभाहिता भएपछि तालिम प्रभावकारी बनेको महशुस गरेका छौं’, अध्यक्ष गुरुङले भने, ‘समुदायको आवश्यकता र चाहनाअनुसार भविष्यमा पनि यस्ता तालिमहरु संचालन गर्नेछौं ।’
स्थानीय बर्कहर्स्ट कम्युनिटी सेन्टरमा संचालन भएको तालिमको उद्घाटन अध्यक्ष गुरुङले गरेका थिए । तालिमको संयोजन सचिव विष्णुकुमार गुरुङले गरेका थिए ।
तालिमको समापनका अवसरमा सबै प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गर्दै दिवाभोज दिइएको थियो ।
सामाजिक कार्यहरुमा क्रियाशिल रहंदै आएको समाजले कोरोना महामारी शुरु भएपछि केही महिनाअघि बेलायतको नेशनल हेल्थ सर्भिसेज् (एनएचएस) को लागि १० हजार पाउण्ड सहयोग प्रदान गरेको थियो ।