शुक्रबार, पुष २६, २०८१
19:22 | ०१:०७

युरोपमा अझै नियन्त्रण हुन सकेन सङ्क्रमण

नेपाली लिङ्क नोभेम्बर १९, २०२०

लन्डन । महामारीका कारण यूरोप विश्वको सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रूपमा गत हप्ता मृत्यु भएका कोभिड–१९ सङ्क्रमितमध्ये यूरोपमा ४९ प्रतिशत रहेकोमा यो साता उक्त सङ्ख्या ४६ प्रतिशतमा झरेको भएपनि अझै युरोप महामारीका कारण विश्वको बढी प्रभावित मुलुकका रूपमा छ ।

सङ्क्रमणका कारण बढी प्रभावित युरोपका मुलुकहरूमध्ये एक स्वीट्जरल्याण्डमा व्यवहारिकरूपमा अस्पतालहरू पूर्णतया भरिएको भन्दै स्वीस सोसाइटी फर इन्टेन्सिभ केयर मेडिसिनले महामारीका कारण सघन उपचार कक्षको अभाव भएको जनाएको छ ।

स्वीट्जरल्याण्डमा अस्पतालहरूले अस्थायी शैयाहरू थपेका छन् भने सहयोगका लागि सेनालाई आग्रह गरिएको छ ।

यूरोपका अन्य प्रभावित मुलुक स्पेन, इटाली, फ्रान्स, जर्मनी र रूस लगायतका सरकारले नियन्त्रणका लागि थप कडा उपायको अवलम्बन गर्ने बताइरहँदा ठाउँठाउँमा विरोधको सामना गर्नुपरेको छ ।

हङ्गेरीले स्वास्थ्य सङ्कटकालको घोषणा गरेको छ भने आंशिक लकडाउन पनि गरेको छ र यसलाई आगामी फेब्रुअरीसम्म कायम राख्नसकिने बताएको छ ।

फ्रान्सका प्रभावित क्षेत्रहरूमा लकडाउनलाई थप बढाउने सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जर्मनीको बर्लिनमा नियन्त्रणका उपायको विरोध गर्दै हजारौँ नागरिक सडकमा उत्रन थालेपछि प्रहरीले प्रदर्शनकारीलाई तितरभितर पार्न मास्क नलगाई प्रदर्शनमा उत्रेका नागरिकमाथि बल प्रयोग गरेको छ भने विरोधीले सरकारविरुद्ध ‘शेम ! शेम !’ भन्दै नाराबाजी गरेका छन् ।

विश्वविद्यालयको तथ्याङ्क अनुसार सङ्क्रमण र मृत्युदर घटेका मुलुकहरूमा दक्षिणपूर्वी एशियाली राष्ट्रहरू देखिएका छन् ।

एएफपीले विश्वव्यापीरूपमा संकलन गरेको तथ्याङ्क अनुसार विश्वभर कोभिड–१९ का कारण १३ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने पाँच करोड ५० लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

अफ्रिकाका पनि घनाबस्ती रहेका शहरहरू तथा गरिब मुलुकहरूमा सङ्क्रमण दर नियन्त्रणमा आउन सकेको छैन् । सङ्क्रमणका कारण व्यवसायिक तथा कृषि गतिविधिहरू प्रभावित बन्दा पहिल्यै खाद्यान्न अभाव झैल्दै आएका अफ्रिकी मुलुकहरूमा समस्या थप जटिल बनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू