सोमबार, पुष ८, २०८१
02:04 | ०७:४९

मुटुको अप्रेसन गरी ‘भल्भ’ फेरिएका गुरुङको कोरोनाले निधन

नेपाली लिङ्क अप्रिल २२, २०२०

मृतक ४८ वर्षका आइतबहादुर गुरुङ

लण्डन । कोरोना भाइरसको संक्रमणबाटै बेलायतमा थप एक नेपालीले ज्यान गुमाएका छन् । लण्डनको वेम्बली क्षेत्रमा बस्ने ४८ वर्षका आइतबहादुर गुरुङको बुधबार लण्डनको ‘नर्थविक पार्क अस्पताल’मा उपचारकै क्रममा निधन भएको हो ।

मृतकका ‘पुसाईं’ समेत पर्ने तमु समाज यूकेका सल्लाहकार चन्द्रबहादुर गुरुङका अनुसार अघिल्लो साताको मंगलबार अस्पताल भर्ना भएका गुरुङको बुधबार बिहान निधन भएको जानकारी अस्पतालले परिवारलाई गराएको छ ।

यसअघि नै उनमा कोरोनाको संक्रमण पुष्टी भइसकेको जानकारी समेत परिवारलाई दिइएको थियो ।

मृतक गुरुङको निधन भएको ‘नर्थविक पार्क अस्पताल’मै करिब १० वर्षअघि उनको मुटुको ‘अप्रेसन’ गरी ‘भल्भ’ फेरिएको उनका पुसाईं गुरुङले बताए ।

त्यसयता उनको स्वास्थ्य अवस्था सामान्य रहँदै आएको र अन्य कुनै समस्या नरहेको बुझिएको छ ।

गुरुङले ‘सेक्युरिटी गार्ड’का रुपमा काम गर्दै आएका थिए ।

सन् २००७ मा हङकङबाट बेलायत आएका गुरुङ श्रीमती र एक्ला छोराका साथ बेलायतमा बस्दै आएका थिए । लमजुङको पोखरीथोकमा जन्मिएका उनको पछिल्लो समय पोखरामा थियो ।

बेलायतमा कोरोना संक्रमणबाट यसअघि डेढ दर्जनभन्दा बढि नेपालीको निधन भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू