सोमबार, मंसिर १०, २०८१
10:48 | १६:३३

नेपालमा एकहजार ९४६ सङ्क्रमित थपिए, दुईहजार ५०३ निको

रासस नोभेम्बर १४, २०२०


काठमाडौं । मुलुकभर कोरोना भाइरस एक हजार ९४६ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ जारी बुलेटिन अनुसार आठ हजार ७५३ जनाको पिसिआर परीक्षण गर्दा ८१६ महिला र एक हजार १३० जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

ती सङ्क्रमित मध्ये प्रदेश १ का २२७, प्रदेश २ का ३८, वाग्मती प्रदेशका ९७८, गण्डकी प्रदेशका ३९९, लुम्बिनी प्रदेशका २०९ , कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका ९३ जना रहेका छन् । ती सङ्क्रमितसँगै नेपालमा अहिलेसम्म दुई लाख ८ हजार २९९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै विगत २४ घण्टामा दुई हजार ५०३ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म एक लाख ७० हजार ६३२ जना निको भइ घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत छ ।

मन्त्रालयका अनुसार ३६ हजार ४५२ जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार आज १३ जनाको कोरोनाबाट निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार २१५ पुगेको छ । उपत्यकामा ८३५ सङ्क्रमण देखिएको छ । ती मध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका छन् । अहिलेसम्म उपचार गराइरहेका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष (आइसियु) र ७४ जनाको भेन्टिलेटरमा छन् ।

ती मध्ये आइसियुमा प्रदेश १ का ५३, प्रदेश २ का १३, वाग्मती प्रदेशका १३६ , गण्डकी प्रदेशका ९४, लुम्बिनी प्रदेशका ६५, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन् ।

भेन्टिलेटरमा प्रदेश १ का १२ , प्रदेश २ का एक, वाग्मती प्रदेशमा ४४, गण्डकी प्रदेशका १३ र लुम्बिनी प्रदेशका चार जना छन् । पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन् । शुन्य सङ्क्रमित रहेको जिल्ला एकमात्र मनाङ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा एक हजार ५७ जना र होम आइसोलेसनमा सात हजार ७२० जना रहेका छन् ।

बिमा गरेका व्यक्तिको खर्च सरकारले नब्यहोर्ने

सरकारले कोरोना भाइरस (कोभिड–१९) को बिमा गरेका व्यक्तिको खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै बिमा कम्पनीबाट कोभिड–१९ को बिमा गरेको व्यक्तिले सबै पिसिआर परीक्षण र उपचार खर्च सरकारले नव्यहोरी निजको बिमा रकमबाट व्यहोरिने जानकारी दिए । उनले कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड–१९ का लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार खर्च निःशुल्क गरिने जानकारी पनि दिए ।

सर्वोच्च अदालतको आदेशपछि यही कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत रहेका कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च ब्यहोर्ने भएको थियो ।

सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचार खर्चमा आफै योगदान गर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू