बुधबार, माघ २, २०८१
06:18 | १२:०३

ब्रिटेन नेपाल प्रज्ञा परिषद्को स्थापना दिवस, गेन्सलले दिए फाल्गुनन्दको प्रवचन

नेपाली लिङ्क नोभेम्बर १०, २०२०

प्रोफेसर मार्टिन गेन्सल

लण्डन । ब्रिटेन नेपाल प्रज्ञा परिषद्को २० औं स्थापना दिवस तथा वार्षिक प्रवचन गत बिहीबार सम्पन्न भएको छ । भर्चुअल रुपमा आयोजित कार्यक्रमको शुरुवातमा परिषद्का अध्यक्ष डा. कृष्णप्रसाद अधिकारीले परिषदबारे जानकारी दिए । उनले ब्रिटेन नेपाल प्रज्ञा परिषद् (बीएनएसी) ले सन् २००२ देखि वार्षिक नेपाल व्याख्यान शुरु गरेको र २००५ देखि नेपाल अध्ययन दिवस शुरु गरेको जनाए।  उनले बीएनएसीले प्राज्ञिक तथा समसामयिक विषयहरुमा वक्तव्यहरु निकालेर आफ्नो धारणा सार्वजनिक गर्ने गरेको पनि बताए।

परिषद्का संस्थापक अध्यक्ष प्रा. डा. सूर्यप्रसाद सुवेदीले परिषद् स्थापनाको इतिहासबारे प्रकाश पारेका थिए । बेलायतका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुवेदीले ब्रिटेनमा अध्ययन गरेका नेपाली विशेषज्ञ र प्राज्ञहरुले नेपालका विभिन्न क्षेत्रमा सेवा पुराइ रहेको स्मरण गरे । उनले बेलायतमा कार्यरत नेपाली प्राज्ञहरुलाई नेपाल सरकारले स्थापना गरेको ‘ब्रेन गेन सेन्टर’संग आवद्ध भएर नेपालको सामाजिक-आर्थिक विकासमा सघाउन पनि आग्रह गरे।

परिषद्को वार्षिक प्रवचन श्रंखलामा यसवर्ष प्रोफेसर मार्टिन गेन्सलले सत्यहाङमा संस्कारहरु: पूर्वी नेपालमा फाल्गुनन्दको पुण्यस्मृति‘ शीर्षकमा प्रवचन दिएका थिए । प्रवचनमा प्रोफेसर गेन्सलले पूर्वी नेपालको पहाडी क्षेत्रका लिम्बु समुदायमा प्रचलित सत्यहाङमा धर्मका धार्मिकसाँस्कृतिक र राजनीतिक पक्षका साथै सो सम्प्रदायका गुरु फाल्गुनन्दका बारेमा जानकारी दिएका थिए ।

सन् १८८५ मा नरध्वज लिङ्देनको रूपमा जन्मिएका उनी कसरी सत्यहाङमा धर्म/पथका प्रवर्तक हुन पुगे सन् १९४९ मा निधन भएको ७० वर्षपछि उनलाई कसरी स्मरण गरिन्छ र उनले प्रतिपादन गरेका के कुरा अबलम्बित छन्उनको विरासतको अपनत्व कसले लिएको छअनि सानो किराँत समुदायमा उदाएका उनी कसरी राष्ट्रिय विभूति हुन पुगे भन्ने प्रश्नहरूमा केन्द्रित रहेर गेन्सलले आफ्नो प्रस्तुति दिएका थिए । उनले सत्यहाङमा किराँत समुदायको परम्परागत र हिन्दु पद्धति मिसिएर बनेको विशिष्ट तरिकाको नयाँ किराँती धर्म भएको बताए ।

फाल्गुनन्दको निधनपछि सुस्ताएको यो धर्म धेरै वर्षपछि उनका उत्तराधिकारी आत्मनन्दद्वारा लिङ्देनद्वारा जगाइएको र विकसित गरिएको बताए। फाल्गुनन्द आफैंले कुनै विधिविधान लेखेर छाडेको नभए पनि अहिले लेखिन थालिएको र सामाजिक मुन्धम‘ रातो धार्मिक पुस्तकको आधारमा संस्कारहरू गरिन थालिएको पाइन्छ । जोसमनी पन्थबाट प्रेरित सत्यहाङमाका संस्कारहरूमा परम्परागत किराँत धर्ममा जस्तो सुँगुरको बली दिनेरक्सी चढाउने कुरा नपाइने पनि उनले बताए ।

डा. कृष्णप्रसाद अधिकारी

कार्यक्रममा परिषदले वार्षिक रुपमा दिँदै आएको विद्यावारिधि शोध पुरस्कार यसवर्ष लियाना चेज र इभान डेस्चेनक्सलाई प्रदान गरिएको थियो । परिषद्की सचिव डा. पुनम यादवले शोध पुरस्कार विजेताहरुका बारेमा जानकारी दिएकी थिइन् भने पुरस्कृतका तर्फबाट लियाना चेजले परिषद्लाई धन्यवाद दिइन् ।

सन् २००० मा स्थापना गरिएको परिषद्ले हरेक वर्ष नेपाल अध्ययन दिवस तथा वार्षिक प्रवचन कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू