के त्यो केटीलाई थाहा छ आफ्नी छोरीको बाउ को हो ?
प्रमोदराजको ‘लन्डन डायरी-४’
‘क्यान आइ ह्याब अ लायअ ?’ काउन्टर पछाडिको सिगरेट क्याबिनेटतिर हेर्दै भन्यो उसले । त्यस्तै २०-२२ वर्ष जतिको देखिने गोरे केटो थियो मेरो अघि । चुरोट को नामहरु याद भइसकेको थिएन । त्यसमाथि यो ‘लायअ’ भन्ने चुरोट त देखे जस्तो लागेन मलाई । यूकेमा मैले पाएको पहिलो जागिरको पहिलो दिन थियो त्यो । ‘को-अपरेटिभ फुड’ भन्ने सुपर स्टोरमा कस्टमर सर्भिस असिस्टेन्टको रुपमा । मुख्य काम अगाडि चेक आउटमा बसेर कस्टमर सर्भ गर्ने थियो । चुरोट र रक्सी चाहि काउन्टर पछाडी हुदोरैछ । त्यसैले यी दुई चिज किन्न कस्टोमरहरुले यसरि नै हामीसंग माग्नु पर्ने हुदोरहेछ ।
काममा पहिलो दिन भएकोले पचासौं थरिका सिगरेट संग परिचित हुन त्यसै पनि गाह्रो भइरहेको बेला फेरि यो केटाले कुन चाहिँ चुरोट माग्यो यो लायअ भन्ने ? मैले फेरि एकपटक सोधेर कन्फर्म गर्ने विचार गरें र पार्डन मि भनेर कान ठाडो पारेर उसलाई सुनें। उसले फेरि पनि सिगरेट क्याबिनेट तिरै इशारा गर्दै उही बेपर्वाह शैलीमा बोली चपाउंदै भन्यो – आइ मिन अ लायअ । यति भएपछि एउटा कुरा चाहिं पक्का भयो कि यसले सिगरेट नै मागेको हुनुपर्छ । अब भने पछाडी फर्केर फेरि एकपटक एल बाट आउने सिगरेट खोज्न तिर लागे । तर फेरि अर्को समस्या पर्यो । सरसर्ती हेर्दा एल बाट आउने एउटा मात्रै चुरोट भेटियो ल्याम्बर्ट एण्ड बट्लर भन्ने । त्यो केटोले मागेको लायअ भन्ने चुरोट थिएन ।
अब भने हल्का नर्भस भइसक्या थें म । फेरि सोचें त्यो केटाले न अरु नै केहि कुरा मागेको पो हो कि ? मैले नबुझेको पनि त हुन सक्छ । यस्तै सोचेर फेरी सोधें उसलाई- डु यु मिन अ सिगरेट ? उसले अब चाहिं अलि अधैर्य हुदै भन्यो – नो नो आइ मिन अ लायअ। हे भगवान के आपत आइलाग्यो, अब त सिगरेट पनि होइन भन्छ बा ! तर किन हरेक पटक चुरोटतिरै हेरेर माग्छ त ? उसले के मागेको हो नै बुझ्न सकिन। मैले नबुझेको देखेर अलि इरिटेट भएर ठुलो स्वरमा भन्यो उसले – कम ओन माइट । आइ सेड अ लाइय.. । अब भने छेवैमा काम गरिरहेकी सहकर्मी संग सहयोग माग्ने सोचें । तर मैले केहि भन्नु अघि नै उ अगाडी सरेर चुरोटको क्याबिनेटको पुछार बाट केही झिकेर मेरो हातमा थमाइदिइ र कान नजिकै खुसुक्क भनी – दिस इज ह्वाट हि इज आस्किंग फर । छक्क परे म । हातमा लाइटर थियो । लायअ भनेको त लाइटर पो भनेको रैछ त । त्यो केटालाई असजिलो मान्दै आइ एम सरी भनेर लाइटर थमाइदिए । केटोले पनि चेन्ज पैसा लिदै गर्दा पुलुक्क मेरो अनुहार हेरेर ‘दयाट्स अलराइट’ भन्दै आफ्नो बाटो लाग्यो ।
मलाइ अलिअलि थक्क थक्क लाग्यो । यति पनि नबुझेर कस्तो मुर्ख भएछु जस्तो पनि लाग्यो । नेपालमा अंग्रेजीको टिचर । अलि अलि इगो हर्ट पनि भयो । संगै काम गर्नेहरुले यसले इंगलिस राम्ररी बुझ्दो रैनछ भनेर ठाने कि भन्ने पीर पनि पर्यो । मलाई हेल्प गर्ने छेवैकी केटि भर्खर १९ वर्षकी थि । कलिलो उमेरकी भए पनि केहि गम्भीर र अलि बढी परिपक्क लाग्थी उ । मैले शिष्टाचारपूर्वक उसलाई भनें – थ्याङ्क्स फर योर हेल्प । उसले पनि ‘दयाट्स ओके’ भन्दै मलाई सजिलो पार्न खोजी । उसले अगाडी भनी- खासमा त्यो केटाले अलि मम्बल गरेर बोलेको थियो । मम्बल याने कि आधा बाहिर आधा भित्र गरि नबुझिने गरेर बोल्नु । तिमी फेरि नयाँ हो क्यारे यहाँ । यसरी बोलेको बुझ्ने बानि छैन होला । डन्ट वरी यु विल गेट उज्ड टु । रियाको कुरा सुनेर केहि हल्का फिल भयो मलाई । हुन पनि हो जति नै अंग्रेजी जाने पनि सुरु सुरुमा नेटिभ हरुले यसरि मम्लिंग गरेर बोलेको बुझ्न अलि गार्हो हुनेरैछ । फेरि यो त जहाँ पनि हुन्छ नि । हामि पनि नेपालीमा आएको छ लाई ‘आको छ’ भन्छौं । के हेरिरहेकोलाई ‘के हेरी रा’ भन्छौं नि । त्यस्तै त होला नि जस्तो लाग्यो । जे होस् रियाको हेल्पले मेरो कन्फिडेन्स ह्वात्तै बढेको थियो। त्यसपछि पनि चुरोट र रक्सी सर्भ गर्दा म अल्मलिए भने आफै अगाडी सरेर देखादिन्थी ।
एउटा कुरा मैले त्यति बेला नै हल्का फिल गरेको थिए, पछि यहाँ रहंदा बस्दा झन् धेरै अनुभव गरे । त्यो के भने यिनीहरु हामीहरु जस्तो अरुको कमजोरीमा छेडछाड गर्ने र होच्याउने गरि सकेसम्म प्याच्च भन्दा रहेनछन् । अर्कालाई उडाउने, खिसिटिउरि गर्ने जिस्क्याउने र लज्जित तुल्याउने गरी कुनै किसिमको बोलि व्यवहार सकेसम्म कसैले गर्दा रहेनछन् । मान्छे नै हुन् पछाडि त यिनीहरुले पनि कुरा त पक्कै काट्छन् होला तर अगाडी फेस टु फेस चाहि एकदम मिठो लरक्क पारेर बोल्दा रैछन् । एकदम लय हालेर बोले जस्तो ! हाम्रोतिर जस्तो अरुलाई खसालेर बोलेको खासै देखिन मैले। यिनीहरुको यहि स्वभाव त्यो लाइटर माग्ने केटो र रियामा देखे मैले र पछि स्टोरकी म्यानेजरमा पनि। मेरो कमजोरी अज्ञानताप्रति काहिं कतै खिसी गरेको आभास हुन दिएनन् मलाई ।
ओहो यस्तो गोरा बाउ आमाको छोरो कति कालो हो , ल हेर कति दुब्लाको। खानै नपाको जस्तो ! छ्या कस्तो बंगुर जस्तो मोटाको ! ला कपाल त पूरै उडेछ त कस्तो बुढो देखिएको ? यी र यस्तै टिका टिप्पणीबाट अरुलाई खिसी गर्ने लज्जित तुल्याउने खालको नराम्रो चलन हाम्रोतिर निकै धेरै छ । अरुको आत्मसम्मानमा ठेस् पुग्ने गरी सकेसम्म व्यवहार नगर्ने र अगाडि नदेखाउने यिनीहरुको स्वभाव सांच्चै सुसंस्कृत र सभ्य लाग्यो मलाई । त्यतिबेला त नयाँ भइयो, तर पछि अझ धेरै कुरा थाहा भयो । कार्यस्थल मा कुनै पनि आधारमा व्यक्तिगत, शारीरिक, मानसिक, जातिय, लैंगिक, वा धार्मिक कुनै पनि आधारमा कसैलाई हतोत्साहित गर्ने भेदभाव गर्ने, अपमानित गर्ने कार्यलाई निकै गम्भीर रुपमा लिएर कारवाही हुदोरहेछ । यस्ता कारणबाट मानिसहरुले सजिलै जागिरबाट हात धुनु पर्ने अवस्था पनि आउदो रहेछ । मैले काम गरेका केहि ठाउंहरुमा यस्तै कारणले जागिरबाट निकालिएको मैले आफैले देखेको छु ।
यस्तै कुरासंग सम्बन्धित एउटा अर्को घटना पनि छ । एकदिन स्टोरबाट पछाडि अफिसतिर जान ढोका खोल्न खोज्दै थिएँ । ढोकामा कोड नम्बर थिच्न एउटा कि प्लेट थियो । त्यसमा नम्बर थिच्ने क्रममा अर्को छेउको भित्तामा रहेको एउटा बटन थिच्न पुगेछु । त्यसको बाहिरको प्लास्टिक कभर कड्याक्क गरेर फुट्यो । के भयो भनेर हेर्न नपाउदै स्टोर नै थर्कने गरी निक्कै ठुलो आवाज मा साइरन बज्न थाल्यो । म त ला के भयो भनेर आत्तिए । मलाई त्यो के को बटन थियो थाहा थिएन ।
एकैछिनमा म्यानेजर बाहिर निस्की । मलाइ ढोकैमा उभिएको देखेपछि स्वभाविक रुपमा तिमीले केहि थिच्यौ भनेर सोधी । त्यतिन्जेल सुपरभाइजर र अर्को एकजना स्टाफ पनि त्यहि आइपुगे । म हल्का नर्भस भइसकेको थिएँ । ढोका खोल्न लाग्दा खोइ कसरी हो छेउको बटन थिचिएको कुरा बताएँ मैले । यति भने पछि म्यानेजरको कस्तो प्रतिक्रिया आउने होला भन्ने सोचेर म थोरै डराएको पनि थिए। मैले जानेर थिचेको होइन भनेर सफाई दिन खोज्दै थिए। तर उसले बीचैमा रोकेर मलाई सान्त्वना दिदै भनी – डन्ट वरी, इट्स नट योर फल्ट, इट्स ओके । अरु स्टाफलाई पनि मैले गर्दा बजेको हो भनेर केहि भनिन । उसले ‘इट्स ओन्लि अ फायर आलार्म’ भनी । आलार्मको चर्को आवाजले स्टोर अझै पनि थर्किरहेकै थियो । केहीबेरमा पुलिस र फायरका मानिसहरु देखिए स्टोरभित्र । म्यानेजरले ‘बाइ मिस्टेक’ बटन थिचिएको कुरा बताएपछि आलार्म बन्द गरेर फर्के उनीहरु । सबै आ-आफ्नो कामतिर लागे । म्यानेजरले नभने पनि अरु स्टाफलाई पक्कै थाहा थियो कि मैले गर्दा बजेको हो यो । तर कसैले पनि त्यो कुरा फेरि कोट्याएन । मैले लज्जित हुनुपर्ने गरी केहि भनेनन् । त्यस्तो कुनै व्यवहार पनि देखाएनन् । फेरि उही माहोलमा काम अगाडि बढ्यो । मानौ कि केहि भएकै छैन । म्यानेजरले यति सामान्य रुपमा लिएको कुरा मेरो लागि एकदमै नौलो थियो । रिसाउनु त परै जाओस्,यस घटनाको कारण उसले आफ्नो अनुहार र हाउभावमा समेत त्यस्तो कुनै परिवर्तन देखाइन । मैले नराम्रो फिल गर्नुपर्ने कुनै कुरा गरिन उसले ।
यतिबेला फेरी उ काम मा फर्किसकेकी थि । सामानहरु भर्ने र एक्स्पाएर हुन लागेका सामानहरुको मूल्य घटाउने काम गर्दै थि उ । मैले चाहि आफुलाई रोक्न सकिन । उ नजिकै गएँ र भने -आइ एम सरी अबाउट द्याट रेइचल । यो सुनेर उसले निकै हल्का र सामान्य रुपमा भनी – नो नो प्रमोद डन्ट बि सरि, इट्स जस्ट एन आलार्म । यो केहि होइन हामीले इन्डक्सन मा तिमीलाई देखाएर भन्नुपर्थ्यो जुन हामीले छुटाएछौं । त्यसैले हाम्रो पनि गल्ती हो नि । इट्स कम्प्लिटली फाइन । यति सुनेपछि मलाई निकै हल्का फिल भाको थियो ।
त्यतिबेला त म नयाँ नयाँ भएकोले सोचें म्यानेजर निकै असल रैछे । तर अहिले यतिका वर्ष यहाँ धेरै ठाउंमा काम गरेर अनुभव लिएपछि के देखें भने यहाँको ‘वर्किङ कल्चर’ हाम्रो भन्दा निकै फरक रैछ । म्यानेजर असल त पक्कै हो तर उसले आफ्ना स्टाफलाई गर्ने व्यवहार यहाँका प्राय सबै कार्य क्षेत्रमा गरिने व्यवहारभन्दा खासै भिन्न चाहि होइन रैछ । नेपालमा जस्तो हाकिमको हैकम चल्दो रैनछ यहाँ । हाकिमलाई मान्नुपर्ने, झुक्नुपर्ने, चाकडी चाप्लुसी गर्नुपर्ने, डराउनुपर्ने यस्तो केहि हुँदो रहेनछ । म्यानेजरको तजबिज र मनोमानीमा होइन, कम्पनीको विधि र पद्दतिमा चल्ने भएकोले आफ़ुमाथि कुनै अन्याय भए वा थिचोमिचो भएमा व्यवस्थापनसंग मज्जाले आपत्ति व्यक्त गर्न डराउनु नपर्नेरैछ । म्यानेजरकै विरुद्ध उ भन्दा माथिल्लो लेभलमा उजुरी गर्न पाइने र त्यसको निस्पक्ष छानबिन भएर कारबाही हुँदोरैछ । म आफै संगपनि अनुभव छ यसको । एक्पटक मैले गरेको उजुरीको सुनुवाई भएर एकजना १० वर्षदेखि काम गर्दै आएको हेड सेफले जागिर गुमाएको थियो ।
म आफै पनि नेपालमा स्कुल,कलेजमा म्यानेजमेन्ट पोस्टमा काम गरेको मान्छे । मैले झल्झल्ती आफैले र मेरा स्टाफहरुले एक अर्काप्रति गर्ने व्यवहार सम्झें। नेपालमा व्यवस्थापकीय पदमा पुगेपछि म अरुभन्दा ठूलो हुँ, विशेष हुँ भन्ने सामन्ती संस्कार छ र त्यहि कुरा देखेर हुर्केका हामी यहाँ त सबैप्रति एकैनासको, समभावको व्यवहार हुने कुरा मेरा लागि एउटा सुखद आश्चर्य थियो । सामान्य रुपले हेल्लो जेम्स! हेल्लो रेइचल! भनेर अभिवादन गरिन्थ्यो । नेपालमा स्कुल प्रिन्सिपल हुँदा आफ्नै टेबुल पुछ्न पनि घन्टी बजाएर पियन बोलाउंथे । आफैले चिया बनाउने त धेरै परको कुरा थियो । तर यहाँ त एकदमै फरक । हामीभन्दा धेरै काम म्यानेजरकै हुन्थ्यो । कहिलेकाहिं उसले चिया बनाइरहेको बेला हामीलाई पनि चिया बनाउँ भनेर सोध्थी। उसले बनाएर दिएको चिया धेरै पटक पिएको छु मैले । यो स्टोरमा मैले काम गरेको जम्मा एक वर्षभरि ब्रेकमा बाहेक मैले म्यानेजर एकछिन पनि बसेको देखिन । इन फ्याक्ट, बस्नको लागि कुर्सि नै कहाँ थियो र ? पछाडि एउटा सानो अफिस थियो दुई जना उभिन मिल्ने एउटा सानो खोपीजस्तो। भित्तामै फिट गरिएको डेस्कमा दुईवटा कम्प्युटर र दराजमा केहि फाइलहरु थिए । कुनामा एउटा अग्लो टुल थियो तर त्यसमा बसेको प्राय देखिन मैले । उठेरै काम गर्थी उ । यो देखेपछि मलाई लाग्यो वास्तवमा अफिस भनेको कामको प्रकृति र आवश्यकताअनुसारको बनाउनुपर्छ । हाम्रोतिरको जस्तो हाकिमको शान र मानका खातिर होइन ।
हुन पनि हो एउटा स्टोर म्यानेजरको काम अफिसमा भन्दा धेरै फ्लोरमै हुन्छ। किन चाहियो ठूलो अफिस? किन चाहियो सोफा र कुर्सीहरु ? कुर्सीको कुरा आउंदा एउटा रमाइलो प्रसंग छ । पहिलो दिन जब म काउन्टरमा काम गर्न छिरें, मैले बस्नको लागि कुर्सी खोजेको थिए। वरिपरि हेरें कतै देखिन । जब अरु कलिगहरु उभिएरै काम गरेको देखे, बल्ल थाहा पाएं, यहाँ दिनभर यसरी नै उभिएरै काम गर्नुपर्ने रैछ जुन मेरो लागि निकै नौलो कुरा थियो । नेपालमा यसरी दिनभरी उभिएर काम गरेको अनुभव थिएन मलाई । खासमा यहाँ ‘कस्टमर सर्भिस’ को कामहरुमा प्राय सबै ठाउंमा यसरी उभिएरै काम गर्ने चलन हुने रैछ । मलाइ अझै याद छ पहिलो दिनको सिफ्ट् सकेर घर पुग्दा खुट्टा टेक् ननै नमिल्ने गरी दुखेको थियो । तर जे कुरा पनि बिस्तारै बानी पर्ने रैछ । पछि सबै नर्मल नै लाग्न थाल्यो।
सामान अर्डर गर्ने , रोटा बनाउने । स्टाफ भर्ना गर्ने, डेलिभरी रिसिभ गर्ने, सामान भर्ने, स्टक कन्ट्रोल, क्यास कन्ट्रोल । सरसफाईदेखि कहिलेकाहिं मोप लगाउनेदेखि धेरै लामो लाइन हुँदा अगाडि टिलमा आएर कस्टमर सर्भ गर्नेसम्मको अनेक काममा व्यस्त हुन्थी म्यानेजर । म चाहिं उसलाई हेरेर झल्झल्ति नेपालमा ड्याम्म भुँडी लागेका घुम्ने कुर्सिको पछाडि टावेल राखेर किरिंग किरिंग घन्टी बजाउदै चिया अर्डर गर्ने र गफै चुटेर समय बिताउने हाकिम सापहरु सम्झन्थे । र यी दुई बीचको भिन्नता को दुरीसंग यी दुई देशको विकासको दुरी पनि नाप्ने प्रयत्न गर्थें । मनमनै कल्पिन्थे- हामीकहाँ पनि यस्तै भइदिए कस्तो हुन्थ्यो ? हाकिमको मात्रै होइन, काम गर्ने कसैको पनि आत्मसम्मानमा चोट नपुर्याउने कुरामा सचेत रहने संस्कारको विकास भए कस्तो हुन्थ्यो होला ? पदकै आधारमा कोइ सानो कोइ ठुलो हुने हुदै होइन। केवल कामको जिम्मेवारी मात्रै फरक हो । यस्तो ज्ञान सबैलाई भइदिए कस्तो हुन्थ्यो होला ? हाकिम र कर्मचारी संगसंगै कुचो लगाएको देख्न पाए कस्तो हुन्थ्यो होला ? यति भएपछि सबैले आफ्नो काम आफैले गर्ने भएपछि किन चाहियो पियन ? यो पद नै खारेज गरिदिए हुदैन र ? अनि मैले यहाँ पाएजस्तै हाम्रोमा पनि कहिलेकाहिं आफ्नै हाकि को हातले बनाएको चिया पिउन पाए कस्तो हुन्थ्यो होला ?
एउटा शनिबार म र रिया सधै जस्तो काउन्टरमा थियौं। दिउंसोको समय भएकोले ग्राहकहरु फाट्टफुट्ट मात्रै आउंथे । म्यानेजर घरि अफिसतिर, घरि वायरहाउसतिर र बेलाबेला सप फ्लोरतिर काममै व्यस्त थि । एकै छिनमा त्यस्तै २५ – २६ वर्ष जतिकी देखिने एकजना गोरी केटी साथमा छोरी लिएर आइ ३-४ वर्षकी । रियासंग राम्रै चिनजान रैछ क्यारे, दुई जना मजाले गफ गरे । केहि सामान किनेर एकैछिनमा उ बाहिर निस्केपछि मैले रियालाई सोधें – तिमले चिनेको हो ? उसले हाम्रो छिमेकी हो भनी । सी इज वर्किङ सो हार्ड । उ सिंगल मम हो। त्यो सुनेर मैले भनें – ए हो र ? भर्खरकी नै छे त ! कति छिटो छुट्टिएछन् त । बिहे गरेका थिए कि पार्टनरसिपमा थिए ? एकैचोटी धेरै प्रश्न सुनेपछि उसले खिसिक्क हाँस्दै भनी – होइन होइन, दुइटै होइन । खासमा उसले बच्चा पाउंदा त उसको ब्वाई फ्रेन्डसंग ब्रेकअप भएको धेरै भइसक्या थियो ।
मैले मन मनै सोचें – त्यसोभए बच्चा कसरी त ? बिहेअघि नै लिभिङ टुगेदरमै बच्चा जन्माउने कुरा त पश्चिमा समाजमा सामान्य हो भन्ने कुराको जानकारी थियो मलाई । तर यहाँ त कुरा त्यो भन्दा पनि एक कदम अघिको आयो । हामीले कलेजमा पढ्दा अंग्रेजी कथा, कविता, नाटक र उपन्यासमा ‘अनवेड मदर’ याने कि अविवाहित आमाहरुको प्रसंग त आइरहन्थ्यो । त्यसैले यो कुरामा बिल्कुलै अन्जान त थिइन म । नेपालमा बिहेअघिको यौन सम्बन्धलाई अझै पनि स्वीकृत मानिदैन । झन् त्यसमाथि अविवाहित आमा बन्ने कुरा त कल्पनाभन्दा बाहिरको कुरा हो । रियासँग म राम्ररी घुलमिल भइसकेको थिएं । त्यसैले उसलाई अफठ्यारो नमानी सोधें मैले- के त्यो केटीलाई थाहा छ ? आफ्नी छोरीको बाउ को हो ? मेरो प्रश्न सायद थोरै अप्रत्यासित थियो उसका लागि। हल्का सोचेजस्तो गरी जवाफ दिइ उसले – मलाई लाग्छ उस्लाइ पक्कै थाहा छ तर उनीहरु अहिले सम्पर्कमा छैनन् । योबारेमा उसले केही भनेकी छैन मलाई तर उसको साथीबाट थाहा पाएको मैले – सि ह्याड दिस बेबि आउट अफ हर रयान्डम सेक्स् । यो सुनेर म अझै उत्सुक हुँदै सोधे – त्यो कसरी नि ? उसले गोप्य कुरा खोले जस्तो हल्का सानो आवाजमा भनी – त्यतिबेला उ सिंगल थि । ब्वाइफ्रेन्डसंग ब्रेक अप भएको धेरै नै भैसक्या थियो रे । पब, क्लब र पार्टीहरुमा भेटिएका केटाहरुसँग कहिलेकाहिं ‘वान नाइट स्ट्याण्ड’ गर्थी रे ।
‘वान नाइट स्ट्याण्ड’ यानेकि यौन सम्बन्ध राख्नको लागि केटा केटीले केवल एक रात संगै बिताउने। त्यसपछि भविष्यमा कुनै सम्बन्धको अपेक्षा नराख्ने। यस्तो सम्बन्धमा कुनै भावनात्मक लगाव हुदैन । केवल शारीरिक आकर्षण, यौन चाहना र रमाइलो गर्ने इच्छा मात्रै हुन्छ। एक रातको लागि सिमित यस्तो सेक्स पछि भोलिपल्ट दुवै आ-आफ्नो बाटो लाग्छन् । ‘वान नाइट स्ट्याण्ड’ युरोप अमॆरिकाको लागि निकै प्रचलित शब्द हो । नेपालमा अंग्रेजी कथा, उपन्यास पढ्दा पढाउंदा रेलको यात्रामा, सिनेमा घरमा तथा होटल रेस्टुरेन्टमा भेटिएका केटाकेटीको ‘वान नाइट स्ट्यान्ड’ को प्रसंग आउंथ्यो । एक रातको यौन सम्बन्धपछि भोलिपल्ट फेरि कहिल्यै नभेट्ने गरी अपरिचितजस्तो गरेर आ-आफ्नो बाटो लागेको प्रसंगहरु आउँदा हामी विधार्थीकालमा रोमाञ्चित हुन्थ्यौं । कता कता काउकुति लागे जस्तो हुन्थ्यो । कक्षामा केटीहरु भने अलि अफ्ठ्यारो मान्थे । पछि कलेजमा आफैले पढाउनु पर्दा अनुभव भयो केटा केटी दुवै हुने कक्षामा यौनको विषयमा खुलेर चर्चा गर्न अलि असजिलो लाग्दोरहेछ । तर नेपालीमा भन्दा अंग्रेजीमा भन्न केहि सहज चाहि पक्कै हुन्थ्यो । मैले कलेजमा पढाउंदा पनि हामिले विद्यार्थी हुँदा महसुस गरेजस्तै कुरा मेरा विद्यार्थीमा पनि देखेको थिएं । यौनका यस्ता प्रसंगमा केटाहरु निकै उत्साहित हुँदै केटीहरुतिर पल्याक पुलुक हेर्थे तर केटीहरु भने असहज फिल गर्थे र कोहि त टाउको निहुराएर बसेको देख्थें म ।
तर यहाँ भने अवस्था निकै फरक छ । उही उमेर समूहकी रिया भने यौनका बारे सहजै सुन्न र खुलेर कुरा गर्न सक्छे । मलाई लाग्यो यहाँ स्कुलदेखि नै दिइने यौन शिक्षा र यहाँको खुला समाजको प्रभाव होला यो । यति नै बेला बास्केटभरि सामान लिएर एकजना कस्टमर रियाको टिलतिर लाग्यो । रिया सर्भ गर्न बिजी हुँदै गर्दा म चाहिं हल्का सोंचमा डुब्न थालें । कति फरक समाज ! हाम्रो देशमा जुन कुरा कल्पनाभन्दा बाहिरको छ, त्यहि कुरा यहाँ भने सामान्य छ । रियाले भनेअनुसार यी सिंगल ममहरुले उल्टै राज्यबाट भत्ता, सुविधा पाउंछन् । १ जनाले मात्रै लालन पालन गर्नुपर्ने भएकोले आर्थिक भार कम गर्न सरकारले मासिक पैसा पनि दिंदोरैछ । समाजले पनि यिनीहरुलाई सहानुभुतिपूर्वक स्विकार्दो रैछ । कानुनको त के कुरा भयो र ? सबैका अधिकार समान रुपले प्रत्याभूत गरेकै छ । मलाई लाग्यो सबैभन्दा मुख्य कुरा व्यक्तिको मन र समाजको मान्यता नै हो रैछ । यी दुई कुरा एकआपससंग मिलेपछि केलाई जायज भन्ने ? केलाई नाजायज भन्ने ?
१८ वर्ष उमेर पुगे पछि चाहे एक दिनको मात्रै होस् या ब्वाइफ्रेन्ड, गर्लफ्रेन्डसंग होस् या लंगटर्म पार्टनर संग होस् या त विवाह गरेर होस्, यौन रुपले सक्रिय हुने कुरा त यो समाजमा सामान्य नै भयो। तर यहाँ त बिहेअघि नै बच्चा जन्माइएको र सम्भवत बच्चाको बाबु को हो भन्ने कुरा समेत नखुल्ने गरी आमा बन्न तयार केटीहरुको त्यो आत्मबल, त्यो स्वीकारोक्ति र समाजको सोच्ने परिधि र दायराको प्रश्न थियो । यतिन्जेल रिया पनि खालि भइसकेकी थि । मैले अलि अनौठो मानेको जस्तो लागेर होला उसले मलाइ सोधी – तिमीहरुको तिर यस्तो हुदैन र ? मैले उसलाई यौनका बारे हाम्रो समाजको मान्यता र हाम्रा व्यवहार बारे स्पस्ट बताएँ । बिहे अघिको यौन सम्बन्धलाई नै मान्यता नहुने हाम्रो समाजमा बिहे नै नगरी बच्चा जन्माउने कुरा एउटा असम्भव परिकल्पना हो । त्यसमाथि झन् बच्चाको बाउको पहिचान समेत नहुने कुरा एकदमै अकल्पनीय कुरा हो । यो हदसम्मको यौन स्वतन्त्रता भनौं या नारी स्वतन्त्रता या प्रजनन हक अधिकार जे भनौं हाम्रो लागि विल्कुलै असामान्य हो ।
निकै ध्यान दिएर मेरो कुरा सुनेपछि उसले अलि गम्भीर हुदै भनि – हेर प्रमोद, यहाँ पनि ५० – ६० वर्ष अघि तिमीहरुको जस्तै यो कुरालाई असम्भव मानिन्थ्यो । तर, अहिले यहाँ यो कुरा सामान्य हो । सिंगल मम्स आर जस्ट द सिंगल मम्स ! विवाहपछि छुट्टिएर होस् या विहे नै नगरी सुरु देखि नै होस् । कसैले प्रश्न गर्दैन र उत्तर दिनु पनि पर्दैन सामाजिक रुपले होस् या कानूनी रुपले । यो कुनै लज्जाको विषय पनि होइन । भर्खर १९ वर्षकी केटिको सामाजिक विकासबारे यो स्तरको समझ र गहन सोच देखेर म छक्क परे र सोधें पनि मैले उसलाई – यु आर सो योङ् । कसरी थाहा पायौ यी कुराहरु ? उसले कपाल मिलाउदै हाँस्दै भनी – मम र ग्रयाण्डमाबाट र अलि अलि पढेर पनि ।
रियाले ठिकै भनेकी थि । बेलायतमा १९५० देखि १९८० भित्र मात्रै अविवाहित आमाहरुबाट जन्मेका ५ लाख भन्दा धेरै बच्चाहरुलाई लोकलाज र सामाजिक प्रतिष्ठा जोगाउनका लागि आमाहरुको इच्छाविपरित त्याग्न बाध्य पारिएको थियो । बच्चाहरु बाल केन्द्रहरुमा राखेर पछि अरुलाई नै पाल्न दिइएको इतिहास छ । यसबाट प्रस्ट हुन्छ ४०-५० वर्षअघिसम्म यो कुरा यहाँ पनि सामाजिक कलंककै विषय थियो । तर समाज परिवर्तनशील छ । कति छिटो र कुन हदसम्मको परिवर्तन हुन्छ भन्ने कुरा त्यो समाजको पारम्परिक मूल्य र मान्यतामा निर्भर गर्ने कुरा भयो । तर केहि न केहि परिवर्तन अवश्यम्भावी छ । झन् अहिलेको ग्लोबलाइजेसन र सोसल मिडियाको विस्तारले यो परिवर्तन झन् छिटो हुने पक्का छ ।
हाम्रा आमा, हजुरआमाका कुरा गरौँ न । त्यो बेला कुर्कुच्चा भन्दा माथि देखाउने कुरा जसरी कल्पनाभन्दा बाहिरको कुरा थियो, आज त्यो सर्दै सर्दै घुडाभन्दा निकै माथि पुगिसक्दा पनि हामीलाई सामान्य नै लाग्छ । विहेअघिको यौन मात्रै होइन, अब त ‘लिभिङ टुगेदर’ कै चलन पनि चल्न थालिसक्यो । पहिला पहिला जस्तो प्रेम सम्बन्धबारे कसैले थाहा पाउला कि भनेर डराई डराई भेट्नु पर्ने अवस्था अब कहा रह्यो र ? मलाई लाग्छ यसरी नै समाजको दायरा बढ्दै जाने रैछ । समाज खुल्दै जाने रैछ । फरक यत्ति हो यिनीहरु अलि अघिदेखि नै खुल्न थाले । हामी चाहिं अलि पछि खुल्न सुरु गर्यौं । आखिर यात्रा त उही नै हो, सुरुवात जहिले गरेपनि गन्तव्य पनि उही नै त होला नि । एकदिन रियाले जस्तै कतै मैले पनि अरु कसैलाई सोध्नुपर्ने होला की – के तिमीहरुको ठाउंमा यस्तो हुदैन र ?
सुनौं प्रमोदराजको लन्डन डायरी-४
(श्रृङ्खलावद्ध रुपमा प्रस्तुत लन्डन डायरी युट्युब च्यानल ‘प्रमोद राज’ र ‘नेपाली लिङक’ बाट प्रकाशन गरिन्छ)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५