बेलायतको तमु समुदायका प्रेरणाश्रोत
लन्डन– स्याङ्जा जिल्लाको पञ्चमुल (हाल आंधीखोला गाविस) मा अवस्थित नेपालकै पहिलो नमुना पर्यटन गाउं सिरुबारी कुर्लेमा पिता स्वर्गीय लेफ्टिनेन्ट भिमबहादुर गुरुङ र आमा श्रीमति टुलकी गुरुङको कोखबाट वि.स. २०१३ सालमा जन्मिए चित्र गुरुङ । गुरुङले गाउंकै श्री त्रिशहीद हाइस्कुल पञ्चमुलमा ९ कक्षासम्म पढे । ब्रिटिश लाहुरे बन्ने सपनाले उनले पढाइ त्यो भन्दा माथि बढेन ।
१७ वर्षमा पढाइ छाडेका चित्रले सोही वर्ष छिमेकी गाउं माझ कटेरीकी जयन्ती गुरुङसंग वैवाहिक लगनगांठो कसे । बिहे भयो, समय बित्दै गएपछि उनलाई अब आफैंले कमाउनुपर्छ भन्ने फिल भयो । त्यही बेला श्रीमति गर्भवती भइन् । यसले उनलाई झन् पारिवारिक बोझ थपियो ।
अब ब्रिटिश गोर्खामा भर्ती हुन कस्सिए उनी । त्यतिबेला गल्ला नाप्न जिल्ला जिल्लामा अधिकृतहरु आउंथे । तर दुर्भाग्य गाउंमा आएका गल्लावालाले उनलाई फालिदिए । थप चिन्तित भए चित्र । तर हरेस खाएनन् । उनका पुसाईंले पक्लिहवा क्याम्प (लोकल) मा लिएर गए । उक्त क्याम्पको कथा पनि रोचक छ । नेपाली अफिसरहरुले हुंदैन भनेर पछाडि धकेल्थे तर गोरा अफिसरले अगाडि तानेर चित्रलाई ब्रिटिश गोर्खामा भर्ती हुने अवसर मिल्यो १८ वर्षकै उमेरमा ।
सन् १९७४ को इन्टेकमा भर्ती भएपछि तालिमका लागि उनी हङकङ गए । हङकङ ट्रेनिङ डिपोमा १० महिनाको कठोर तालिम लिएपछि चित्रको क्वीन्स गोर्खा सिग्नल्स्मा अर्को तालिम शुरु भयो झण्डै एक वर्ष । तालिमपछि सिग्नल्स्बाट सिग्नल मेन देखि वारन्ट अफिसर क्लास टु अथवा सार्जन्ट मेजरमा २० वर्ष आर्मी जागिर गरेर १९९४ मा अवकास लिए उनले ।
नोकरीका दौरान हङकङ, ब्रुनाइ, यूके, सिंगापुर, जर्मनीमा काम गर्ने अवसर पाए । कामका सिलसिलामा सन् १९८६ देखि ८७ सम्म सार्जन्ट भएर सेन्डहस्र्टको अफिसर क्याडेट सेन्टरको डेमोन्सट्रेसन कोअर्डिनेशन गर्ने महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुलाई उनले आफ्नो करिअरको उपलब्धि मानेका छन् ।
त्यस्तै सन् १९९१ देखि १९९२ सम्म ब्रुनाइको ब्रिटिश आर्मीको जंगल वारफेयर ट्रेनिङ सेन्टरको सिग्नल अफिसर र इन्सट्रक्टरको भूमिका सफलतापूर्व निभाएकामा पनि उनी खुशी छन् ।
अवकासपछि उनी नेपाल फर्किए । फर्किएर नेपालमै बस्ने मनस्थिति थियो तर साथीहरुले कामका लागि हङकङ बोलाएपछि उनले त्यहां गएर १८ महिना नोकरी गरे । तर, उनलाई त्यहां बसिरहन मन लागेन । किनकि घर परिवारको दायित्व उनमा थियो ।
नेपाल फर्किएर सन् २००४ मा उनी क्यानडा गए बहिनी मिना गुरुङ र ज्वाईं भुवन गुरुङलाई भेट्न । त्यसपछि २ महिना क्यानडा बसेर अमेरिकामा २ हप्तापछि बेलायत आए सन् २००४ मा । भिजिट भिजामा बेलायत आएपछि वर्क परमिटको खोजीमा लागे चित्र । एउटा कम्पनीले वर्क परमिट अप्लाई गरिदिन्छु भनेपछि उनलाई केही आशा जागेको थियो । त्यसैक्रममा भूपू गोर्खाहरुको संगठन बिजिडब्लुएस्को नेतृत्व परिवर्तन हुंदै थियो । लेप्टेन नवीन गौचनबाट मेजर टिकेन्द्रदल देवानले अध्यक्षता लिए । अध्यक्ष भएलगत्तै देवानले भूपूहरुलाई बेलायतमा बस्न पाउने अधिकार हुनुपर्छ भनेर आन्दोलन शुरु गर्ने तयारी गरे । चित्र पनि बिजिडब्लुएस्मै आवद्ध भएर गोर्खा क्याम्पियनलाई सहयोग गरे ।
बेलायतमा रहेका प्राय सबै भूपू गोर्खाहरु एक भएर लन्डनबाहिर लिभरपुलमा रहेको अध्यागमन कार्यालयको मुख्यालयमा मुल ढोकामै प्रदर्शन गरे । प्रदर्शनपछि अध्यागमनबाट सकारात्मक प्रतिक्रिया आए लगत्तै २ महिनामा तत्कालिन प्रधानमन्त्री टोनी ब्लेयरले २ वर्षभित्र बेलायतमा हुने सबै भूपूहरुले अप्लाइ गर्न पाउने नीति ल्याए । बिजिडब्लुएस् र इमिग्रेसनको सिधा सम्पर्क स्थापित गरेर आवेदन सहज बनाइएको थियो । त्यो बेला टिकेन्द्रले इमेल गरेपछि भिजा दिने सम्मको वातावरण बनेको थियो । दुई वर्षसम्म दिइएको त्यो सुविधाले झण्डै ३ हजार भूपूहरुले आवासीय अधिकार (आइएलआर) पाएका बताइन्छ । त्यही समयमा बिजिडब्लुएसले ४ लाख २५ हजारमा आफ्नै घर किन्न सफल भएको थियो । त्यो बेलायतमा नेपालीको पहिलो संस्थागत भवन मानिन्छ ।
भूपू गोर्खाहरुको अधिकारका लागि लन्डनबाट आफूले प्रमुख भूमिका निर्वाह गरेपछि तमु साथीहरुको अनुरोधमा उनले आफ्नो कला, संस्कृति र समुदायको हितमा काम गर्ने सोच बनाए । ३० सेप्टेम्बर २००७ मा तमुधिं लन्डन इकाइ स्थापना भयो र त्यसको नेतृत्व चित्र गुरुङले नै लिए । उनले अध्यक्षका रुपमा दुई कार्यकाल गरे । आफू अध्यक्ष हुंदा उनले समाजको आर्थिक कारोबार सधैं पारदर्शी हुनुपर्छ भनेर यसलाई प्रमुख एजेन्डा बनाए ।
दोश्रो बेलायतमा त्यो बेलासम्म ठूलो ग्रुपमा कल्चरल डान्स भएको थिएन । सन् २००८ मा बुद्ध रनिङ शिल्ड इन्टर कम्युनिटी फोक डान्स कम्पिटिसनको शुरुवात उनैले गरे । नेपाली लोक संस्कृति झल्किएको हुनुपर्ने, संस्थागत सहभागितामात्र हुनुपर्ने र न्यूनतम डान्सरहरु ६ जना हुनुपर्ने नियम उक्त प्रतियोगितामा थियो । जसले गर्दा बेलायतमा कल्चरल ग्रुप डान्स फैलंदै गयो ।
यही बीचमा सुवसिं गुरुङ तमुधिं यूकेको अध्यक्ष हुँदा शुरु गरेको नेपाली मेलामा दोश्रो वर्ष उनी संयोजक भए । उनी संयोजक हुंदा नेपाली मेला फरक ढांचामा गयो । उनकै सुझाव अनुसार तमुधिं यूकेको अध्यक्ष सुवसिं गुरुङको पहलमा लन्डनस्थित नेपाली दूतावासले एम्बेसेडर कप दिने सम्झौता गरयो । दूतावासबाटै एम्बेसेडर कप दिंदा उसले मेलालाई अपनत्व महशुस गर्छ भन्ने सोच चित्रमा थियो । आखिर दूतावासकै खर्चमा उक्त कप दिने निर्णय भएपछि अहिलेसम्म नेपाली मेलामा दूतावासको सक्रिय सहभागिता छ भने मेलाको लोकप्रियता पनि बढ्दै गएको छ । सुःखद संयोग, गुरुङ अध्यक्ष भएकै संस्थाले सन् २०११ मा एम्बेसडर कप जित्न सफल भएको थियो ।
गुरुङले नै नेपाली मेलामा झांकी प्रदर्शनी र कल्चरल डान्सको कन्सेप्ट ल्याएका हुन् । एम्बेसडडर कप जित्न झांकी र कल्चरल डान्समा विजयी हुने समाजलेमात्र कप पाउने नियम बनाएर प्रतियोगिता शुरु गरिएको थियो । नेपाली मेलामा नेपाली दूतावासको प्रत्यक्ष सहभागितामा एम्बेसेडर कपले निरन्तरता पाउने विश्वास गुरुङलाई छ । यो कन्सेप्टले नेपाली मेलाको निरन्तरतामात्र होइन, यसले मेलाप्रति मानिसहरुको आकर्षण समेत बढ्ने आशा गुरुङले लिएका छन् ।
तमुधिं लन्डन इकाइको कोष बढ्दै गएको थियो । बेलायतमा बसेपछि यहांको नियम कानूनमा पनि बांधिनुपर्ने भएपछि इकाइका विभिन्न बैठक भए । सन् २०१२ को वार्षिक साधारणसभामा संस्थालाई च्यारिटी कमिसनमा लगेर बैधानिकता दिने कुरा पारित भयो । तमुधिं यूके पहिल्यै च्यारिटीमा दर्ता भइसकेकाले त्यही नामले च्यारिटी दर्ता गर्दा समस्या हुने थियो । त्यसपछि तमु समाज यूके नाम परिवर्तन गरेर च्यारिटी कमिसनमा दर्ता गरिएको चित्र बताउंछन् । त्यस बेला तमुधिं लन्डन इकाइ अध्यक्ष शिवशरण गुरुङ थिए । जुलाई २०१२ को साधारणसभामा पारित भएपछि त्यही सालको डिसेम्बर १० मा च्यारिटी नम्बर प्राप्त भएको गुरुङले स्मरण गरे ।
तमु समाज यूकेले ब्रेन्ट काउन्सिल अन्तर्गत वेम्ली नजिक सडबरीमा सरकारबाट कम्युनिटी एसेट ट्रान्सफर नियम अनुसार ७ वर्षका लागि कम्युनिटी सेन्टर लिन सफल भयो । यसरी भवन लिने यो पहिलो नेपाली संस्था हो । सो काममा विशेष गरि एमपी बीरेन्द्र शर्मा, तत्कालिन ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहान र ब्रेन्ट काउन्सिलका लिडर मोहम्मड बटको ठूलो भूमिका थियो । यसका लागि तत्कालिन तमु समाज यूके हाउजिङ कमिटीका संयोजक सुवसिंह गुरुङ, तत्कालिन अध्यक्ष अर्जुनकुमार गुरुङ, महासचिव ज्ञान गुरुङको दौडधुप र सक्रियता अत्यधिक थियो ।
नेपालमा प्राकृतिक प्रकोपका बेला सधैं सहयोग गर्दै आएको तमु समाज यूकेले सन् २०१५ मा गएको महाभूकम्पका बेला पनि झण्डै ५३ लाख रुपैयां सिधै पीडितहरुमा पुग्ने गरि बांडेको थियो । त्यतिबेला लमजुङ, गोर्खा र कास्कीको एक एक गाउंलाई सहयोग गरिएको थियो भने समाजले धादिङमा भूकम्पले भत्काएको एउटा स्कुलको ४ वटा कोठा निर्माण गरिदिएको थियो ।
सन् २०१६ को कुरा हो । क्यान्सर पीडित कुसुम गुरुङको मृत्युपछि उनको शव नेपाल लगिदिन उनकी आमाको अनुरोध तमुधिं यूके, तमु प्येलु संघ यूके, एनआरएनए यूके लगायत कुनै पनि संस्थाले वास्ता गरेनन् । त्यही बेला कुसुमका गाउंले होम गुरुङ (जो चित्रका पल्टने साथी हुन्) ले तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र गुरुङलाई एप्रोच गरेपछि उनले नाइ भन्न सकेनन् । त्यसपछि उनकै संयोजकत्वमा करिब ११ लाख रुपैयां आर्थिक संकलन गरि शव र उनका गरगहना अनि कपडा नेपाल पठाइएको थियो । यसमा नेपालबाट मेजर लक्ष्मीप्रसाद गुरुङको प्रमुख भूमिका थियो ।
उनको अधिक समय तमु समुदायकै हितका लागि बित्ने गर्छ । यही क्रममा तमु समाज यूकेको आफ्नै भवन हुनुपर्छ भन्ने सोच सन् २००९ मै बनाएका गुरुङले उक्त महत्वकांक्षी प्रोजेक्ट अगाडि बढाउने अठोट लिए । यसका लागि हाउजिङ कमिटीको संयोजक उपाध्यक्ष शिवकुमार गुरुङलाई तोकेर अहिले समाजले लन्डनस्थित ग्रीनफोर्डमा आफ्नै भवन किन्न सफल भएकामा उनी एकदम खुशी छन् । संस्थाकै नाममा बेलायतमा भवन किनिएको यो नै पहिलो हो । यस भवन खरिदमा तमु समाज यूकेका वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङको पनि विशेष भूमिका छ ।
बाबा स्वर्गीय भिमबहादुर गुरुङ र आमा टुल्की गुरुङका जेष्ठ सुपुत्र चित्र गुरुङ श्रीमति जयन्तीदेवी गुरुङ, छोरी बिनु गुरुङ, ज्वाईं ओम गुरुङ, नातिहरु मिसाल गुरुङ र जेसन गुरुङ, छोरा दमन गुरुङ, बुहारी ममता गुरुङ, ठूलो नातिनी आयुष्मा गुरुङ र नाति आदर्श गुरुङका साथ बेलायतमा छन् ।
उनका भाइ जीवन गुरुङ र बुहारी कल्पना गुरुङ पनि बेलायतको अक्सब्रीजमा बस्छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५