मंगलबार, मंसिर ११, २०८१
16:49
|
२२:३४
विश्वमा कोभिड १९ सङक्रमितको संख्या चार करोड नाघ्यो
रासस/एएनआइ
अक्टोबर २१, २०२०
वासिङ्टन-५ कात्तिक– विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ११ लाख ५४ हजार ९४५ जना कोभिड १९ सङ्क्रमित भएका छन् ।
यस सङ्क्रमणका कारण विश्वभरी ११ लाख ३१ हजार ६४५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ । यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये दुई करोड ६ लाख ९१ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८५ लाख २१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ ।
उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २६ हजार २२० जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ ।
भारतमा ७६ लाख ५९ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्राजिलमा ५२ लाख ७४ हजार भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ ।
रुस चौथो स्थानमा छ र यहाँ १४ लाख ४७ हजार ३३५ जना सङ्क्रमित रहेका छन् । विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६८ लाख ३ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ ।
विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’ को घोषणा गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ