नेपालका अनाथको सहयोगार्थ बेलायतमा साइकल यात्रा गरिंदै
नोभेम्बर ७ मा वूल्विचदेखि ब्राइटनसम्म साइकल यात्रा
लन्डन । नेपालका अनाथ बालबालिकाको सहयोगार्थ बेलायतमा एक च्यारिटी साइकल यात्रा गरिने भएको छ ।
एनआरएनए इङ्ल्यान्ड राज्य समन्वय परिषदको आयोजनामा आउंदो नोभेम्बर ७ तारिख शनिबार लन्डनको वूल्विचदेखि ब्राइटनसम्मको साइकल यात्रा तय भएको छ ।
यो च्यारिटी इभेन्टमा हेल्प नेपाल नेटवर्क यूके, एनआरएनए यूके खेलकुद विभाग , नेप्लिज हेल्थ एशोसिएसन यूके लगायतको सहकार्य छ । च्यारिटी साइकल यात्रामा संयोजन र सहभागिता वूल्विच आर्सनल राइडर्स क्लबमा आबद्ध सदस्यहरुको रहनेछ ।
च्यारिटी साइकल यात्राबाट संकलन हुने रकम हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेको धुलिखेलमा निर्मित बालगृहका अनाथ बालबालिकालाई सहयोग गरिने एनआरएनए इङ्ल्यान्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले बताए ।
अनाथ बालबालिकाको सहयोगका लागि हुन लागेको इभेन्ट भएकाले बेलायतवासी नेपाली एवम् संघसंस्थाबाट सक्दो सहयोग अपेक्षा गरिएको श्रेष्ठ बताउंछन् ।
वूल्विचदेखि ब्राइटनसम्मको एकतर्फी ६९ माइलको दूरी पूरा गरेपछि च्यारिटी यात्रा सम्पन्न हुनेछ । बिहान १० बजे वूल्विचबाट शुरु हुने यात्रा पूरा हुन ६ घण्टा लाग्ने अनुमान गरिएको छ ।
यो च्यारिटी साइकल यात्राको संयोजनमा ‘वूल्विच आर्सनल राइडर्स’ क्लबका सदस्यहरू हेल्प नेपाल नेटवर्क यूकेका प्रशिद्ध प्रधान र सचिन श्रेष्ठ, गैरआवासीय नेपाली संघ यूकेका महासचिव फडिन्द्र भट्टराई, खेलकूद संयोजक ह्यारी गुरूङ, क्याट यूके अध्यक्ष जीवन सेन , नेपाली युथ एसोसिएशन यू के अध्यक्ष लक्षुमन गुरूङ, सुरज गुरूङ र अमिर श्रेष्ठ लगायत जुटिरहेका छन् ।
साइकल यात्रा सबैको लागि खुला राखिएको भन्दै भाग लिन ईच्छुक हुनेहरुलाई आयोजक समुहलाई सम्पर्क राख्न आग्रह गरिएको छ ।
इभेन्टको लागि आर्थिक सहयोग संकलनका लागि बुद्ध फाउन्डेसन यूकेको बैँक खाता प्रयोग गरिएको भन्दै आयोजकले निम्नानुसारको खातामा रकम जम्मा गराउन अपील गरेका छन् ।
Buddha Foundation UK
Barclays Bank
20-57-76
A/c: 93183165
Ref: Cycling4Charity
जस्ट गिभिङ’ मार्फत सहयोग गर्ने लिंक :
https://www.justgiving.com/fundraising/woolwich-to-brighton-charity-bike-ride