ट्रम्प बाइडेनसँग बहसका लागि अनिच्छुक
वासिङ्टन, २३ असोज– अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी रयालीका लागि भने तयार रहेको बताएका छन् । गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले रयालीमा सहभागी हुन सक्षम रहेको दावी गरेका हुन् । उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौं व्यक्ति सङ्क्रमित भएका छन् । राष्ट्रपति ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गइ सोमबार निवास फर्किएका थिए । निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् । उनका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिए । स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उनले शनिबार फ्लोरिडामा हुने रयालीमा आफू सहभागी हुन चाहेको बताएका थिए ।
टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा ट्रम्पले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिएका थिए । सोही अन्तरवार्तामा राष्ट्रपतिय बहसमा भने आफू सहभागी हुन नचाहेको उनले बताएका थिए । राष्ट्रपतीय बहस आयोगका अधिकारीहरुले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्यौलमा परेको हो । उनीहरुबीच पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धी बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् ।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकन र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्रयाटको तर्फबाट प्रतिस्पर्धामा छन् । त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको साथमा वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको साथमा सिनेटर कमला ह्यारिस छन् । उनीहरुबीच पहिलो बहस बिहीबार भएको थियो ।