सोमबार, मंसिर १०, २०८१
21:30 | ०३:१५

आइपीएल खेल्न सन्दीप यूएईतर्फ

रासस सेप्टेम्बर १२, २०२०

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लागेका छन् । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आज यूएई उडेका हुन् ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्कि सन्दीप सोझै युएई गएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । आइपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आइपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आइपीएल खेल्न लागेका हुन् । आइपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए । नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।

सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो । सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए । उनी सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू