मंगलबार, मंसिर ११, २०८१
05:57
|
११:४२
अमेरिकाले सेप्टेम्बर १५ देखि टिकटकमाथि प्रतिबन्ध लगाउने
रासस-एएनआई
सेप्टेम्बर ११, २०२०
वासिङ्टन–२६ भदौ– अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले यही सेप्टेम्बर १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीबार गराउनुभएको हो । उहाँले ती एप्शहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिनुभएको थियो ।
‘अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुदैन’– राष्ट्रपति ट्रम्पले भन्नुभएको छ ।
प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ ।
बिहीबार उहाँ अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी रयाली सम्बोधन गर्नका लागि जानु भएको थियो । सो रयालीमा जानु अगाडि उहाँले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने जानकारी समाचारदाताहरुलाई दिनुभएको हो ।
मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिँदै उहाँले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ । यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।
अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्शहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्शहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ