सोमबार, पुष १५, २०८१
17:28 | २३:१३

बेलायतसहित विकसित राष्ट्रबीच कोभिड खोप किन्न होड

बेलायतसंग सञ्चित भण्डारमा ३४ करोड डोज हुने

नेपाली लिङ्क अगस्ट २७, २०२०

लन्डन — विश्वभरका वैज्ञानिकहरू यतिखेर कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप विकासमा जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल १ सय ७० भन्दा बढी वैज्ञानिकहरूको समूह खोप विकासमा जुटेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहित ७ समूह अहिले तेस्रो चरणको परीक्षणमा व्यस्त छन् । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भए/नभएको जाँचिन्छ ।

सामान्यतया कुनै पनि खोप विकास गर्न बैज्ञानिकहरुलाई वर्षौं लाग्ने भएपनि कोरोना भाइरस भ्याक्सिन एक देखि डेढ वर्षभित्रै विकास गर्न विश्वका बैज्ञानिक क्रियाशील छन् ।

अनुसन्धान जारी रहंदा विश्वका कयौं मुलुकले अहिले नै खोप खरिदका लागि सम्झौता गरिसकेका छन् ।

बेलायत सरकारले सम्भाव्य खोपका थप ९ करोड डोज लिन अर्को सम्झौता गरेको छ । बेलायतले जोनसन एण्ड जोनसनको स्वामित्व रहेको बेल्जियन फर्मास्यूटिकल कम्पनी जेनसीन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सले विकास गरिरहेका कोभिड १९ विरुद्धको खोप लिने सम्झौता गरेको हो ।

यो सहित बेलायतले अनुसन्धान चरणमा रहेका ६ विभिन्न खोप खरिद सम्झौता गरेपछि उससंग सञ्चित भण्डारमा ३४० मिलियन अर्थात ३४ करोड डोज हुनेछ ।

यति सञ्चित भएपछि बेलायतवासी प्रत्येकलाई ५ डोजका दरले खोप पुग्ने सरकारको विश्वास छ । सामान्यतया मानिसलाई दुई खोप भए पुग्ने जनस्वास्थ्यविदहरु बताउंछन् ।

सरकारले नोभाभ्याक्सको यूकेमा तेश्रो चरणको क्लिनिकल परीक्षण र भौतिक पूर्वाधारका लागि पनि सहयोग गर्ने बताइएको छ । उक्त कम्पनीका तर्फबाट ६ करोड डोज बेलायतमै उत्पादन गराउन सरकारले सघाउने छ ।

ब्रिटेनले अर्को ३० मिलियन डोज लिने सम्झौता गरेको कम्पनी जेनसन फर्मास्यूटिकल कम्पनीलाई ग्लोवल क्लिनिकल ट्रायलका लागि आर्थिक सहयोग गर्ने पनि जनाइएको छ । यदि उक्त खोप सुरक्षित र प्रभावकारी प्रमाणित भए अर्को वर्षको मध्यसम्ममा बेलायतमा उपलब्ध गराइने छ ।

बेलायती व्यापारमन्त्री आलोक शर्माले सरकारको रणनीतिको खास उद्देश्य सम्भावित खोपहरु मध्ये कुनै एकले काम गर्छ भन्ने निश्चिन्त हुनु रहेको बताए ।

यो सम्झौताले बेलायती जनतामात्र लाभान्वित नभइ विश्वभर नै निष्पक्ष र उचित पहुंचले लाखौं जनताको जीवन रक्षा गर्ने शर्माले एक विज्ञप्तिमा जनाएका छन् । यूकेको खरिद सम्झौतामा चार भिन्न वर्गीकरणका खोप छन् ।

ब्रिटेनले अहिलेसम्म फर्मास्यूटिकल जाइन्ट ‘बायोएनटेक’ र फाइजर तथा भल्नेभासंग ९ करोड डोज, अक्सफोर्ड विश्वविद्यालयले आस्ट्राजेनेकासंग मिलेर विकास गरिरहेको खोप १० करोड तथा जिएसके र सानोफी पास्चर्सले परीक्षण गरिरहेका ६ करोड डोज लिन सम्झौता गरिसकेको छ ।

अमेरिकाले मोडर्नासंग गत मंगलबार डेढ बिलियन डलरमा एक करोड खोपका लागि सम्झौता गरिसकेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अमेरिकाले जोन्सन एण्ड जोन्सनसंग पनि करिब एक अर्ब डलरमा एक करोड खोपको डिल गरेको छ । अमेरिकासंग २ करोड अतिरिक्त खोप अर्डरको विकल्प सम्झौतामा छ ।

ट्रम्प प्रशासनले औषधि उत्पादक सानोफी र ग्लाक्सो स्मिथ क्लाइन (जिएसके) लाई २ दशमलब १ बिलियन डलरमा एक करोड, फाइजर र बायोएनटेकसंग पनि एक दशमलब ९५ बिलियन डलरमा एक करोड खोपका लागि सम्झौता गरेको छ । अमेरिकाले खोप विकासमा अहिलेसम्म करिब ९.५ बिलियन डलर सहयोग पनि गरेको छ ।

उता, रसियाले विकास गरेको खोप अगष्टदेखिनै शुरुमा स्वास्थ्यकर्मी र अक्टोबरदेखि सर्वसाधारणलाई दिइने बताइएको छ । रसियाका लगानी कोष प्रमुख किरिल डिमिट्राइभले विभिन्न २० देशबाट एक अर्ब बढी डोजको अर्डर आइसकेको दाबी गरेका छन् । मानव परीक्षणको दुई महिनाभित्रै ल्याइएको ‘स्पुटनीक भि’ नामक उक्त खोपको सुरक्षा र प्रभावकारिताबारे भने कतिपय बैज्ञानिकहरुमा आशंका छ ।

युरोपेली आयोगले पनि शुक्रबार फर्मास्यूटिकल कम्पनी एस्ट्राजेनेकासंग ३ करोड खोप किन्न सम्झौता गरेको छ । आयोगले खोप सुरक्षित र प्रभावकारी भए ईयू सदस्य राष्ट्रहरुका निमित्त थप एक करोड डोज किन्नेछ । खरिद गरिएका खोप निम्न तथा मध्यम आय भएका देशमा समेत प्रदान गरिने छ ।

आफ्नो घरमा मात्र होइन, अत्यावश्यक मानिसलाई विश्वभर नै उपलब्ध गराउन प्रतिवद्ध रहेको आयोगको भनाइ छ । उसले गत ४ मे, २०२० देखि विश्व महामारी कोरोनाविरुद्ध जुध्न १६ बिलियन युरो उठाइसकेको छ । आयोगले अन्य औषधि कम्पनीहरुसंग पनि खोप खरिदका लागि वार्ता गरिरहेको बताएको छ ।

आस्ट्राजेनेकाले यसअघि विभिन्न देशमा ४० करोड डोज आपूर्तिको पहिलो सम्झौता गरिसकेको छ । अमेरिकी सरकारबाट एक अर्ब डलर बढी सहयोग पाएको उक्त कम्पनीसंग सन् २०२१ सम्म एक अर्ब डोज उत्पादन गर्ने क्षमता छ ।

अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा आस्ट्राजेनेकाले अहिले तेश्रो चरणमा ३० हजार जनामा मानव परीक्षण गरिरहेको छ । उसले विश्वभर सहज र उचित तवरले खोप उपलब्ध गराउन कयौं देशहरुसंग संयुक्त रुपमा काम गरिरहेको पनि जनाएको छ । उक्त कम्पनीसंग जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्सले पनि ३ करोड भ्याक्सिन किन्न प्रारम्भिक सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

बेलायतको बर्मिङहम युनिभर्सिटीमा औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल बेलायतले विभिन्न प्रविधि प्रयोग गरेर विकसित गरिएका खोप लिने सम्झौता गरेको बताउंछन् । ‘सरकारले धेरै डिल गर्नुको अर्थ एउटा प्रविधि असफल भए अर्कोले काम गर्ने सम्भावना हुन्छ भन्ने विश्वास लिएर हो’, डा. पौड्यालले भने, ‘अहिले कुनैमा निर्जीव भाइरस, कुनैमा सक्रिय प्रोटिन जस्तै बनोट भएको कृत्रिम संरचना राखेर खोप विकास भइरहेको छ । खोप विकासमा बैज्ञानिकहरु सफलतान्मुख भएकाले आशावादी हुने अवस्था छ ।’

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य विषयका प्राध्यापक डा. पदम सिम्खडा विकसित देशहरुले एडभान्समा खोप डिल गरेर जनतालाई आश्वस्त पार्न खोजेका बताउंछन् । ‘खोप विकासमा सकारात्मक संकेत छ । तर, सबै खोप सफल हुने सम्भावना पनि रहन्न’, डा. सिम्खडाले भने, ‘खोपको एन्टीबडी कुन तहमा विकास हुन्छ ? भ्याक्सिनले दीर्घकालिन रुपमा कस्तो असर गर्छ वा यसको असर कति समय रहन्छ अहिले नै भन्न सकिने अवस्था छैन् ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू