बेलायतमा फेरि कोरोना संक्रमित बढ्दै
लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या लकडाउन पश्चात शुक्रबार मध्येकै सबैभन्दा कम भएको छ । कोरोना संक्रमणका कारण गएको २४ घन्टामा दुई जनाको मात्र ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
मृत्युदरमा कमी आएपनि संक्रमितको संख्या भने दैनिक एक हजार भन्दा बढी हुने गरेको छ । हिजो बिहीबार १ हजार १ सय नयाँ संक्रमित थपिएकोमा आज १ हजार ३३ जना नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार ४ सय ५ पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या हालसम्म ३ लाख २३ हजार ३ सय १३ पुगेको छ । सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, मेक्सिको र भारतपछिको पाँचौं स्थानमा पर्छ ।
हालसम्म विश्वमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या झन्डै ८ लाख पुगिसकेको छ । युरोपमा कोरोनाको दोस्रो लहर आउने क्रम बढ्दै गर्दा बेलायतमा मृतक संख्या कम देखिएको छ । कोरोना संक्रमण भएको २८ दिनभित्र भएको निधनलाई मात्र बेलायत सरकारले कोरोनाका मृतकको रुपमा घोषणा गर्ने नीति लागू गरेपछि मृतक संख्यामा कमी आएको हो ।
उता फ्रान्समा कोरोना भाइरस संक्रमित संख्या बढ्दो क्रममा छ । स्पेन, जर्मनी र इटालीमा पनि गत अप्रिल र मे महिनापछिको सबैभन्दा बढी संक्रमित फेला परेको बताइएको छ ।
स्पेनमा कोरोना संक्रमित हुनेमा युवा बढी पाइएको छ भने स्पेन, जर्मनी र इटालीमा पनि गत अप्रिल र मे महिनापछिको सबैभन्दा बढी सङ्क्रमित फेला परेका छन् । जर्मनीमा सामाजिक दुरीमा बेवास्ता गरेका कारण संक्रमण फैलिएको बीबीसीले उल्लेख गरेको छ ।
यसअघिको अध्ययनअनुसार युरोपमा संक्रमण शुरु भएको दुई हप्तापछि बेलायतमा कोरोना संक्रमण देखिएको थियो । यसपटक भने बेलायत सरकारले विशेष सावधानी अपनाउँदै आएको छ । सरकारले संक्रमण नियन्त्रण गर्न युरोपका कतिपय मुलुकबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ ।
यसअघि क्वारेन्टाइन बस्नपर्ने सूचीमा रहेको पोर्चुगललाई भने हटाइएको छ । अबदेखि पोर्चुगल होलिडेमा गएर आउनेहरुले क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५